दार्चुला । सुदूरपश्चिमका २० सहित देशभरीका ३३ वटा स्थानीय तहलाई नेपाल सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि पटकपटक विपद्को सामना गर्दै आएको दार्चुलाको नौगाड गाउँपालिका नपरेपछि आपत्ती जनाइएको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्णय अनुसार दार्चुला जिल्लाका दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका लगायत देशभरीका २० जिल्लाका ३३ वटा स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा हार्दिक स्वागत गर्दछु, गाउँपालिका अध्यक्ष प्रेमसिह धामीद्धारा हस्ताक्षरीत ध्यानआकर्षण पत्रमा भनिएको छ । तर दार्चुलाको नौगाड गाउँपालिका २०७०, २०७४, २०७६, २०७७ र २०७८ साल र त्यो भन्दा पहिलेदेखि समेत बर्षातको समयमा पटकपटक बाढी पहिरोबाट ठूलो क्षती व्यहोर्दै आएको भएपनि नौगाडलाई संकटग्रस्त क्षेत्रमा समावेस नगरिएको भन्दै उहाँले आपत्ती जनाउनुभएको छ ।
गत बर्ष २०७७ साल र चालु बर्ष २०७८ सालको बर्षाको समयमा आएको बाढी तथा पहिरोमा परि धेरै मानिसले ज्यान गुमाएका छन्, ध्यानआकर्षण पत्रमा भनिएको छ, कैयौँ मानिस परिवार विहिन भएका छन । कैयौँका जमिन तथा सम्पत्ती बगाएको छ । गाउँपालिकाभरीका कैयौँ विद्यालय भवन, स्वास्थ्य भवन लगायतका पुर्वाधारहरु तहसनहस भएका छन् । कैयौँ खानेपानीका योजनाहरु बगाएका छन् । पानी घट्ट, पुल, लघुजलविद्युतहरु बगाएको कुरा सर्वविधित हुदाहुदै नौगाड गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा नगरिनुमा म र हाम्रो गाउँपालिकाको घोर आपत्ती छ, अध्यक्ष धामीद्धारा हस्ताक्षरीत ध्यानआकर्षण पत्रमा लेखिएको छ । साथै यथाशिघ्र नौगाड गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नका लागि नेपाल सरकार र नेपाल सरकारका सम्बन्धित निकायहरुको गम्भीर ध्यानआकर्षण समेत गराइएको छ ।

दार्चुलाका दुई स्थानीय तहलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । दार्चुलाको दुहुँ र अपिहिमाल गाउँपालिकासहित सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । दुहुँमा बाढीपहिरोले ठूलो जनधनको क्षती पुर्याएको छ भने अपिहिमालमा समेत पहिरोको उच्च जोखिम र खाद्यान्न अभाव लगायत समस्या रहेको छ ।
यसैबिच पूर्वमन्त्री एबं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले दुहुँ र अपिहिमाल गाउँपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा स्वागत गर्दै बाढी पहिरोले ठूलो जनधनको क्षती व्यहोर्दै आएको नौगाड गाउँपालिका लगायत स्थानीय तहलाई समेत समेट्न माग गर्नुभएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया