कर्मचारीको उमेर हद ५८ बाट ६० वर्ष बनाउने तयारी

दार्चुला । निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० वर्ष बनाउने विषयमा छलफल भए पनि यसले पूर्णता पाउन सकेको छैन । अहिलेको अवकाश पाउने उमेर हद ५८ बाट बढाएर ६० वर्ष बनाउने तयारी छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्याउने निर्णय गरेर प्रतिनिधि सभामा प्रतिवेदन पेश गरेको छ । तर संसद पटक–पटक अवरुद्ध हुँदा यस विषयमा कुनै निर्णय हुनसकेको छैन ।

कर्मचारीको आधिकारिक ट्रेड युनियनले पनि उमेर हद ६० वर्ष पुर्याउन लबिङ् गर्दै आएका छन् । नेपालीको औषत आयु र काम गर्ने क्षमता पहिलेभन्दा बढेकाले कर्मचारीको उमेर हद ६० वर्ष बनाए मुलुकलाई फाइदा पुग्ने युनियनका कार्यवाहक अध्यक्ष भोलाप्रसाद पोखरेलले बताउनुभयो । ‘निजामती सेवाबाहेक अन्य सेवामा उमेर हद ६० छ । न्याय सेवातर्फ यो उमेरभन्दा बढी छ । एकरुपता ल्याउन पनि निजामतीतर्फ पनि ६० वर्ष राख्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘केही मुलुकमा त काम गर्ने क्षमताको आधारमा पनि उमेर हद तोकिन्छ, यसकारण हाम्रोमा पनि ६० वर्ष राख्नु उपयुक्त हो ।’

उमेर हद ६० वर्ष पुर्याउने कुरामा युनियन पनि सकारात्मक रहेको उहाँको तर्क छ । यसअघि निजामती सेवा ऐन, २०१३ र निजामती सेवा ऐन, २०२१ मा पनि कर्मचारीको उमेर हदबन्दी ६० वर्ष नै कायम गरिएको थियो । तर २०४९ सालमा बनेको ऐनले निजामती कर्मचारीको उमेर हद घटाएर ५८ वर्ष बनाएको थियो । नेपालबाहेक सार्कका अन्य देशहरुले पनि कर्मचारीको उमेर हद ६० वर्षभन्दा बढी कायम गरेका छन् । सार्क देशमध्ये बङ्गलादेशले मात्रै कर्मचारीको उमेर हद ५९ वर्ष कायम गरेको छ । तर, अन्य देशले उमेर हद ६० वर्ष कायम गरेका छन् । छिमेकी देश चीनले पनि हालै कर्मचारीको उमेर ६० वर्ष कायम गरेको छ । कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्नुमा महिलाको उमेर हदलाई पनि कारक मानिएको उहाँको तर्क छ । महिलाले ४० वर्षको उमेरसम्म निजामती सेवामा प्रवेश गर्न पाउँछन् भने पुरुषले ३५ वर्षसम्म ।

महिलाको हकमा उनीहरु ५८ वर्षको हुँदा अनिवार्य अवकाश पाउँछन् । यो, हिसाबले ४० वर्षमा सेवा प्रवेश गरेका महिलाको सेवा अवधि १८ वर्ष मात्र पुग्छ । जबकी पेन्सन पाउनको लागि २० वर्ष सेवा पुग्नुपर्छ । त्यसैले सेवा प्रवेश गर्न दिने तर पेन्सन नदिने अवस्था आउने भन्दै अनिवार्य अवकाशको उमेर ६० वर्ष नै कायम गर्दा नै उपयुक्त हुने देखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?