कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन, जुटेन सहमति

दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पनि पुग्नुभएको छ । उहाँले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरुसँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका पाहुनाले पनि सम्बोधन गर्नुहुनेछ । उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । भृकुटीमण्डपमा चहलपहल बढेको छ ।

नेपाली कांग्रेसको महाधिवेसन सुरु भएपनि उम्मेदवारीका विषयमा अझै सहमति जुटेको छैन् । संस्थापन इतर पक्षले सभापतिसहित पदाधिकारीमा सहमति जुटाउन सकेको छैन भने संस्थापन पक्षमा समेत सभापति बाहेक अरु पदमा सहमति जुटिसकेको छैन् । संस्थापन इतर समूहको बैठक आज शुक्रवार बेलुका फेरि बस्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि बेलुका बत्तीसपुतलीमा बैठक बस्ने र सभापतिमा साझा उम्मेदवार तय गर्ने निर्णय भएको नेताहरूले बताएका छन् ।

मिनेन्द्र रिजाल, महेश आचार्य, गगन थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उहाँको निवास बोहोराटार पुग्नुभएको थियो । संस्थापन इतर समूह केही दिनदेखि निरन्तर साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भए पनि अझै सहमति बनेको छैन । संस्थापन इतर समूहबाट सभापतिमा पौडेलसहित प्रकाशमान सिंह र डा.शेखर कोइराला आकाङ्क्षी हुनुहुन्छ ।

आज बेलुका बस्ने बैठकमा विभिन्न जिल्लाका सभापति तथा केन्द्रीय सदस्यहरू पनि सहभागी हुनेछन् । यसअघि आज बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा नेताहरूको बैठक बसेको थियो । उनीहरूले पौडेललाई महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन सहमत गराएका छन् । पौडेल उद्घाटन सत्रमा सहभागी हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?