दार्चुला । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ ।
सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि उहाँलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।
उहाँले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा. रावलको परामर्शबमोजिम हुने बताउनुभयो । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।
सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा. रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया