दार्चुला । बजेट अभावमा सञ्चालन तथा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर, कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा र डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको हो । हाल निर्माणाधिन अवस्थामा रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख ४८ हजार बजेट विनियोजन गरिएको छ । गोकुलेश्वर विमानस्थलका लागि विनियोजन भएको उक्त बजेट एकदमै न्यून रहेको प्राविधिहरुले बताएका छन् । डिपिआर रिपोर्ट अनुसार उक्त बजेट गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने बजेटको पाँच प्रतिषत मात्रै हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा सोमवार बसेको क्यानको बैठकले कैलालीको धनगढी विमानस्थलका लागि एक अर्ब, अछामको साँफेबगर, कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको हो । यस्तै कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख ३२ हजार, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख ४४ हजार, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख ४८ हजार, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ । साथै बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्ययनका लागि ५० लाख र डोटी विमानस्थल दुई सय ५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको धनगढीमा रहेको विमानस्थललाई क्षेत्रीय स्तरको बनाउनका लागि दुई सय ५० बिघा जमिन अधिग्रहण तथा दुई हजार पाँच सय मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिक खुसी भएका दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेसँगै अब यहाँका सबै विमानस्थलमा काम सुरु गरिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टको भनाइ छ ।
अन्य विभिन्न जिल्लाका विमानस्थल सञ्चालनमै रहेकोले उक्त बजेटले काम गर्न सहज होला तर दार्चुलाको निर्माणाधिन विमानस्थलमा अढाइ करोड बजेटले निकै नै कम मात्रै काम गर्न सकिने प्राविधिकहरु बताउछन् ।
पूर्वमन्त्री तथा दार्चुलाबाट निर्वाचित सासंद गणेशसिंह ठगुन्नाका अनुसार, स्रोत सुनिश्चितता भई सहमति पाएको बजेट घटाएर विनियोजन गरिएको छ । उहाँले भन्नुभयो, विगत लामो समय देखी बन्द गोकुलेश्वर एयरपोर्ट सञ्चालन तथा पुनर्निर्माणका लागि लामो समयको संघर्ष, योजना अनुसार स्थलगत अध्ययन गराएर डिपिआर तयार गरि बहुबर्षिय ठेक्का खोल्न २०७७ साल माघ २१ गते नै केपी शर्मा ओली प्रधानमन्त्री, बिष्णु पौडेल अर्थमन्त्री र म आफै (गणेशसिंह ठगुन्ना) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुदा राष्ट्रिय योजना आयोगको सिफारिस भएर उति बेलै अर्थ मन्त्रालयले ५० करोड ४९ लाख रुपैयाको सहमति प्रदान गरि अहिले करिब ४ करोडको ठेक्का लागेर कार्य सञ्चालनमा आएको छ । यो आयोजनाको समय ३ बर्षको र ५० करोड ४९ लाख डिपिआर अनुसार लाग्ने रकम र उक्त रकमको अर्थ मन्त्रालयले दिएको सहमति र सुनिश्चितताले गर्दा नै यो कार्य अगाडी बढेको छ ।
सोमबार सरकारले बिनियोजन गरेको बजेट २ करोड ६५ लाख रकम त्यहि स्रोत सुनिश्चितता भित्रकै क्यानको बजेट रकम हो, उहाँले भन्नुभयो, जुन दार्चुला एयरपोर्टको सम्बन्धमा एकदम न्यून हो । एयरपोर्टमा सञ्चालनका लागि यथेष्ट बजेट भनेको डिपिआर अनुसार कै रकम हो । २०७७/७८ बाट शुरु भएको र२०७९/८० मा सम्पन्न गर्नु पर्ने योजनामा क्यानको कार्ययोजना अनुसार पनि कम्तिमा २० करोड आवश्यक भएकोले बजेट बढाएर विनियोजन गरिदिन समेत सरकारसंग उहाँले आग्रह गर्नुभएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया