पुस १५ मा सेल, पुरी, माणा, बटुक र तरुलको स्वादमा आईना र बातैसंग रमाउँदै सुदूरवासी

दार्चुला । दार्चुला, बैतडीसहित सुदूरपश्चिममा पुस १५ अर्थात पुसे त्यारलाई पर्वका रुपमा मनाउँदै सेल, पुरी, माणा, बटुक र तरुलजस्ता खानेकुरा खाएर सुदूरपश्चिमेलीहरु रमाइरहेका छन् । दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरालगायत सुदूरपश्चिमभर मनाइने पुस १५ का दिन घरपरिवारका सदस्य एकै ठाउँमा जम्मा भएर मिठो मसिनो खाने र आईना बातै सुन्ने सुनाउने चलन छ ।

पुस १५ गतेका दिन तरुल, घ्यु, सेल, माणा र मासबाट बनाइएका बटुक खाएर घर परिवारका सदस्य जम्मा भएर आईना र बातै सुन्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार ईन्द्रदेब जोशीले बताउनुभयो । पुस १५ को रातलाई पर्वका रुपमा मनाउने चलन रहे पनि पछिल्लो समय आईना र बातै (लोककथा) सुन्ने चलन हराउँदै गइरहेको उहाँले बताउनुभयो । पुस १५ को रात निकै लामो हुने मान्यताअनुसार पुस १५ गतेको दिन मीठो र तातो खानेकुरा खाएर रातभर आइना र बातै (लोक तथा दन्त्य कथा ) सुन्ने चलन रहेको छ । पुस १५ गतेको राति ‘सुनकेसरी बातै’ र ‘डुब्क्या मुल्याकी बातै’ जस्ता दन्त्य कथा सुन्ने चलन रहेको ८५ बर्षीय चन्द्रदेब भट्टले बताउनुभयो ।

पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालप्रतिको बढ्दो मोहका कारण आइना र बातै सुन्ने चलन हराउन थालेको सामाजिक अगुवा गोविन्दराज जोशीले बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत पुस १५ गतेको शुभकामना आदानप्रदान हुन थालेको छ । पुसे त्यारका दिन आफन्त, छरछिमेक, इष्टमित्र र छोरी चेलीलाई निम्ता गरेर मिठोमसिनो परिकार खुवाउने चलन पनि रहिआएको छ । पुस १५ देखि रात छोटो हुदै जाने र दिन बढ्दै जाने मान्यता छ । पछिल्लो समय परम्परागत खानेकुरा भन्दा पनि मासुजन्य खानेकुरा खाने चलन बढ्दो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?