दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ का स्थानीय आठ वर्षदेखि अन्धकारमा बस्न वाध्य छन्। २०७० सालमा आएको बाढीले वडा नम्बर १ को तल्लो भेगमा रहेको स्थानीय विद्युत लाइन बगाएपछि पुनर्निर्माणको काम हुन नसकेको स्थानीय जयसिंह ठगुन्नाले बताउनुभयो । स्थानीयस्तरको विद्युत मर्मत हुन नसकेको र राष्ट्रियस्तरको लाइन जडानका लागि पटक पटक आग्रह गरेपनि स्थानीय तहका जनप्रतिनिधिहरुले चासो नराखेको स्थानीयको गुनासो छ ।
नौगाड गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष करन डडालले छिट्टै पालिकाभरि राष्ट्रिय प्रसारण लाइन जोड्ने उद्देश्यले ठेक्का सम्झौताको प्रक्रियामा रहेको बताउनुभयो । दार्चुलाको नौगाड र अपिहिमाल गाउँपालिकाबासीले हालसम्म पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत बाल्न पाएका छैनन् । अन्य पालिकामा आशिंक रुपमा विद्युतिकरण भएपनि अपि र नौगाडमा हालसम्म राष्ट्रिय प्रसारण लाइन नपुगेका कारण विद्युतको समस्या कायमै रहेको छ । सबैजसो पालिकामा विद्युतिकरणको काम अधुरो छ । जिल्लाभरीका ४० प्रतिषत घरधुरीमा मात्रै बिजुलीको पहुँच पुगेको छ । भने झण्डै ६० प्रतिषत घरधुरी अझै अन्धकारमा छन् ।
विद्युतिकरणका लागि पटक पटक ठेक्का सम्झौता भएपनि ठेकेदारको लापरवाही, भगौलिक विकटता, कार्यालय र जनप्रतिनिधिको कमजोरी र निर्माण सामाग्री र उपकरणको अभाव लगायतका कारण विद्युतिकरणमा लक्ष्य अनुसार प्रगति हुन सकेको छैन् । सबै स्थानीय तहमा विद्युतिकरणको काम भइरहेकोले अबको एक बर्षमा जिल्लाभरी विद्युतिकरण भइसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ठेक्का सम्झौता गरेको लामो समयसम्म पनि ठेकेदारहरु कामका लागि फिल्डमा नफर्किने गरेका कारणले समेत विद्युत विस्तारमा ढिलाइ भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया