महाकालीमा पक्की पुल बनाउन भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान

दार्चुला । महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा दुई देशको आवागमनलाई सहज बनाउन कञ्चनपुर (टनकपुर गड्डाचौकी) मात्र पक्की पुल रहेको छ । सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि महाकाली नदीमा अर्को पुल निर्माण हुने भएको सम्भावना बढेको हो । पुल निर्माणको चर्चा पटकपटक भएपनि विगतदेखि काम हुन सकेको छैन । सम्भावना अद्ययन, प्राविधिक निरीक्षण, माटो परीक्षण जस्ता गविविधि विगत सरकारको पालामा समेत भएकोमा पुल निर्माणको भौतिक कार्य खलपत्र परेको थियो । सोहि स्थानमा फेरी पुल निर्माणको चर्चा सुरु भएको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पुल निर्माणका लागि भारतसँग सहमतिपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृति दिने निर्णय गरेको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । दुई देशबीच आवतजावत गर्नका लागि महाकाली नदीमा गड्डाचौकीबाहेक अरू भागमा पक्की पुल छैन । कहीँ झोलुङ्गे पुल छन् भने कहीँ तुइनबाट आवतजावत हुँदै आएको छ, जसका कारण यहाँका स्थानीय बासिन्दा महाकाली नदीमा दुर्घटनामा परी अकालमा ज्यान गुमाउन बाध्य हुँदै आएका छन् । मंसिर महिनामा पिथौरागढमा सम्पन्न नेपाल भारत सुरक्षा अधिकारीको समन्वय बैठकमा समेत पक्की पुल निर्माणको काम छिटै अघि बढाउने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, गत महिना पिथौरागढमा सम्पन्न बैठकमा समेत महाकालीमा मोटरेबल पुल निर्माणको विषयमा छलफल भएको थियो, दुबै देशको हितमा भएकोले पुल निर्माणको काम अघि बढाउन पहल गर्ने समझदारी भएको हो । पुल बन्ने क्षेत्रमा यसअघि माटो परीक्षण र प्राविधिक निरीक्षण भइसकेको भएपनि निमार्ण कार्य अघि बढ्न सकेको थिएन ।

केही दिन अघि मात्रै नेपालस्थित भारतीय राजदूतावासका कर्मचारीहरुले उक्त क्षेत्रको अवलोकनसमेत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भारतीय पक्षले पटक–पटक माटो परीक्षण देखि सम्भाव्यता अध्ययनका कार्यसमेत गरिसकेकोले पुल निर्माण कार्य अगाडी बढ्ने अपेक्षा गरिएको छ । हाल निर्माण हुने चर्चा भएको पुलले नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्लाको धारचुला छार्चुम क्षेत्रलाई जोड्ने छ । सो पुल निर्माणका लागि यही सोमबार मात्र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले समझदारीपत्र पारित गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । मन्त्रालयका अनुसार दार्चुला जिल्लाको सदरमुकाम जोड्ने राजमार्गसँग रहेको धाप नजिकको असिकाँडा क्षेत्रमा निर्माण हुने पुलको डिजाइन तथा लागतसमेत तयार भइसकेको छ । दुई वर्षअघि पुल निर्माण हुने क्षेत्रको माटोको परीक्षणसमेत भइसकेको छ ।

दार्चुलाको सीमाक्षेत्रमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मात्रै छन् । लाली, जोलजिबि, दत्तु, खलंगा र तिग्रम गरी पाँचवटा झोलुगें पुल सञ्चालनमा छन भने बाँकी चार वटा पुल निर्माणधिन अवस्थामा छन् । महाकालीमा पक्की पुल नहुदा दुबै देशको यातायात आवतजावतमा सहजता हुन सकेको छैन् । दार्चुला र बैतडीमा भारतसंग जोड्ने पक्की पुल नहुदा नेपाल भारत सिधै आवतजावतका लागि कञ्चनपुर पुग्नुपर्ने बाध्यता छन् । सीमा क्षेत्रमा पक्की पुल निर्माण भएमा दुबै देशका नागरिकलाई सहज हुने र व्यापारीक सम्बन्ध पनि बढ्ने सम्भावना रहेको छ । महाकाली नदीमा दार्चुला जिल्लाको सदरमुकाम र बैतडी जिल्लाको सदरमुकामसँग प्रत्यक्ष जोड्ने पुरानो झोलुङ्गे पुल छन्, जहाँ भन्सार कार्यालय सञ्चालनमा छन् ।

यसअघि दार्चुलाका जनप्रतिनिधित्व गर्नुहुने कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालस्थित भारतीय राजदूतावासका मिसन उपप्रमुख नामग्या सी खाम्पाले भेट गर्नुभएको थियो । सो अवसरमा महाकाली नदीमा पुल निर्माणको विषयको सहमतिलाई अन्तिम रूप दिने विषयमा छलफल भएको बताइएको छ । मन्त्री बडू, पूर्वमन्त्री गणेश ठगुन्ना सहितका नेता र भारतीय राजदुत सहित प्राविधिकहरुले यहि स्थानमा पुल निर्माणका लागि केही बर्ष पहिले निरीक्षण अनुगमन गरेका थिए । अनुगमनपछि पुल निर्माण कार्य अगाडी बढ्ने भनिएपनि काम हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?