दार्चुला । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम संयोजकमा सन्तोषप्रकाश जोशी र इन्चार्जमा विष्ना चन्दलाई मनोनित गरिएको छ । बैतडी घर भएका दुवै जनालाई राष्ट्रिय युवा संघको पोखरामा सम्पन्न सचिवालयको दोश्रो पूर्ण बैठकले संयोजक र इन्चार्जमा मनोनित गरेको हो ।
महाधिवेशन आयोजक कमिटिका रुपमा आफूहरुलाई जिम्मेवारी प्राप्त भएको संयोजक जोशीले बताउनुभयो । अब राष्ट्रिय युवा संघको वडा तहदेखि केन्द्र सम्मको अधिवेशन सम्पन्न गरिने उहाँले बताउनुभयो । बैठकले माघ ८ गते वडा अधिवेशन, माघ १५ गते पालिका अधिवेशन,माघ २२ गते जिल्ला अधिवेशन र माघ २९ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । यस्तै फागुन ११ देखि १४ सम्म बाँकेको नेपालगञ्जमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको जोशीले बताउनुभयो ।
कोरोना भाइरसको जोखिम कायम रहेकाले स्वास्थ्यका मापदण्ड अपनाएर अधिवेशनहरु सम्पन्न गरिने बताइएको छ । भौतिक रुपमा उपस्थित भएर अधिवेशन सम्पन्न गर्ने अवस्था नभए भर्चुअल माध्यमबाटै भएपनि अधिवेशन सम्पन्न गरिने जोशीले बताउनुभयो । युवाहरुलाई उद्यमसंग जोड्ने कार्यक्रम सहित राष्ट्रिय युवा संघले दिएको जिम्मेवारी पूरा गर्ने जोशीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया