दार्चुला । दार्चुला जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बैठकले दार्चुलाका सबै स्थानीय तहहरुमा बर्सेनी विपद्का घटनाहरू हुने गरेको उल्लेख गर्दै संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत तथा पुनःस्थापनाको कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो ।
यसअघि दार्चुलाको दुँहु गाउँपालिका र अपीहिमाल गाउँपालिकालाई नेपाल सरकारले संकटग्रस्त गाउँपालिका घोषणा गरेको छ । दुँहु गाउँपालिकामा २४४ जनाको घर पुनःनिर्माणका लागि, १४ जनाको घरपरिवार पुनःस्थापनाका लागि र २७२ जनाको घर प्रवलीकरणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । अपिहिमाल गाउँपालिकामा आशिंक घर क्षति भएका ८ जनाको मर्मत तथा प्रबलीकरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । घर मर्मत र प्रवलिकरणका लागि ५० हजार, घर गुमाएका परिवारलाई ५ लाख र घर सहित जमिन समेत गुमाएका परिवारलाई ८ लाख रुपैयाँ राहत प्रदान गरिने सरकारले जनाएको छ । दार्चुलाका ९ वटै स्थानीय तहहरुलाई संकटग्रस्त घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
चालु आर्थिक वर्षको हालसम्म आफन्त गुमाएका तथा बेपत्ता परिवारका नजिकका ८ परिवारलाई जनही दुई लाखका दरले १४ लाख र निजी आवास, घरजग्गा, जमिन, खाद्यबाली तथा पसलमा क्षति भएका १ सय ३७ परिवारलाई १८ लाख १६ हजार राहत वितरण गरिएको पाइएको छ । विपद् व्यवस्थापन समितिको बैठकले संकटग्रस्त घोषणा भएका दुँहु र अपिहिमाल गाउँपालिकाका बाढीपहिरो पीडितहरू पहिचान गरि विवरण पठाइएको बताउदै उहाँले बाढी पहिरोका कारण ठूलो क्षती व्यहोरेका नौगाड लगायत सबै स्थानीय तहलाई समेत संकटग्रस्त क्षेत्र घोषणा गरिदिन सिफारिस गरिएको बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया