दार्चुला । दार्चुलामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार (आज) दार्चुलामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या ७५ पुगेको छ । सक्रिय संक्रमितमध्ये महाकाली नगरपालिकाका मात्रै ४४ जना रहेका छन् ।
मालिकार्जुन गाउँपालिकाका १४ जना, अपिहिमाल गाउँपालिकाका ७ जना, शैल्यशिखर नगरपालिकाका ६ जना, लेकम गाउँपालिकाका २ जना र दुहुँ र मार्मा गाउँपालिकाका १÷१ जना गरी ७५ जना सक्रिय संक्रमित रहेको बताइएको छ । लेकम गाउँपालिकाका एक जना जनप्रतिनिधि र एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार व्यास र नौगाड गाउँपालिकामा भने सक्रिय संक्रमित छैनन ।
जिल्ला अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल दार्चुलामा इमर्जेन्सी बाहेकका सेवाहरु बन्द गरिएको छ । भारत तथा जिल्ला बाहिरबाट आउनेहरुको संख्या बढेसंगै गाउँगाउँमा कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु बढेका छन् । खलंगाबाहेकका सीमा नाकाहरुमा कोरोना परीक्षणको समेत व्यवस्था नहुदा संक्रमित मानिसहरु समेत सिधै गाउँघरसम्म पुगिरहेका छन् ।
दार्चुलाका सबै नाकाबाट नेपाल–भारत आवतजावत निर्बाध रूपमा भइरहेको छ । जिल्ला प्रशासनले स्थानीय तहलाई भारतसितका सीमा नाकामा कोरोनाको परीक्षण गर्न भने पनि स्थानीय तहहरूले अहिलेसम्म व्यवस्था गर्न सकेका छैनन । व्यासको सीतापुल, तिग्रम, महाकालीको दत्तु, मालिकार्जुनको जौलजिवी र लेकमको लाली नाकामा कोरोना परीक्षण नभएको स्थानीयको गुनासो छ । भारतमा तीव्र संक्रमण भएको ठाउँबाट आउने स्थानीय कोरोना परीक्षण नगरिकनै सिधै गाउँ पसिरहेका छन ।
अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने हो । सीमा नाकामा निःशुल्क कोरोना परीक्षणको पोस्टर लगाएका छन । तर, स्वास्थ्यकर्मीको उपस्थिति देखिँदैन । प्रहरीले नेपाल–भारत आवतजावत गर्ने नागरिकलाई खोप लगाएको वा नलगाएको भनी सोध्ने गरेको स्थानीयहरु बताउछन् ।
कोरोनाको परीक्षण नहुँदा गाउँभरि कोरोना संक्रमित भरिएको स्थानीयको गुनासो छ । खलंगास्थित पुलघाटमा दैनिक भारतका विभिन्न ठाउँहरूबाट नेपाल प्रवेश गरिरहेका कोरोना लक्षण देखिएकाको परीक्षण भइरहेको छ । भारतका विभिन्न ठाउँबाट दैनिक ५०/६० जना भित्रिने गरे पनि थोरैको मात्र परीक्षण हुने गरेको खलंगाका स्थानीय पुरन साहुले बताउनुभयो । खलंगा पुलघाट सीमानाका र जौलजीवी सीमानाकामा कोरोना परीक्षणको व्यवस्थापन भइसकेकाले सबै सीमानाकामा सो व्यवस्था गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । त्यस्तै जिल्ला विपद् व्यवस्थापन समितिले समेत सम्बन्धित स्थानीय तहहरुलाई सम्बन्धित सीमानाकामा कोरोना परीक्षणको व्यवस्थापन गर्न आग्रह गरेको भएपनि हालसम्म व्यवस्थापन हुन सकेको छैन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया