दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ । भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुई देखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको हो । नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन । भारतीय केन्द्रीय जल विभागले माघ ४ बाट आफ्नो भूभागतर्फ पुलघाटदेखि जहरलालसिंह नवियाल स्टेडियमसम्मको एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैनन । नेपाल–भारतबीच यसअघि आफूखुसी तटबन्ध नबनाउने सहमति भइसकेको छ । अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर भारतले महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको हो । तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतले तटबन्ध निर्माण सुरु गरेपछि मात्रै संरचनाबारे सोधपुछ गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मौखिक रूपमा जानकारी माग्दा भारतीय पक्षले पुरानो तटबन्ध भत्काएर नेपालतर्फको जस्तै तटबन्ध बनाउन लागेको जनाएको थियो ।
नदीको पुरानो बहाव परिवर्तन नहुने गरी तटबन्ध बनाउन हामीले भारतलाई रोक्न सक्दैनौं,’ प्रजिअ उपाध्यायले भन्नुभयो, ‘बहाव परिवर्तन हुने गरी संरचना बनाए त्यसको प्रतिवाद गर्न सकिन्छ ।’ महाकाली किनारमा भारतले पक्की तटबन्ध बनाउन थालेको बारे शुक्रबार गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रशासनले जनाएको छ । उक्त क्षेत्रमा २०७० सालमा महाकालीमा आएको भीषण बाढीअघि नै भारतले नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाएको थियो । यसपालि बहाव धकेलिने गरी नदीको भूभाग मिचेर पक्की तटबन्ध बनाउन थालेको स्थानीयले बताएका छन । अहिले भारतीय पक्षले पुलघाटदेखि स्टेडियमसम्मको भूभागमा तटबन्ध निर्माणका लागि ढुंगामाटो पन्छाइसकेको छ । पुलघाटनजिकको क्षेत्रमा करिब ४०÷५० मिटरमा जग खन्न पनि सुरु गरेको छ । गत पुस १३, १४ तिर नदी किनारमा नापजाँच गरेको भारतले माघको सुरुवातबाटै तटबन्धको काम थालेको पुलघाटका स्थानीय राजेन्द्र बडालले बताउनुभयो । हिउँदमा जलस्तर घटेका बेला नेपालतिर धार फर्काएर तटबन्ध निर्माण भइरहेको छ ।
पुलघाटनजिक भारतले पहिले नै तटबन्ध बनाएको हुँदा २०७० को बाढीले हाम्रोतिर बढी क्षति गरेको थियो, आफ्नो संरचना जोगाउन तटबन्ध बनाउनु स्वाभाविक हो तर नदी पारिपट्टिको संरचनालाई असर पर्ने गरी भइरहेको काम रोक्नुपर्छ,’ महाकाली नगरपालिका–५ का स्थानीय एवं महाकाली नदी नियन्त्रण आयोजनाका पूर्वप्रमुख इन्जिनियर महेन्द्रप्रसाद बडूले बताउनुभयो । उहाँका अनुसार बाढीलगत्तै भारतले नाकाको झोलुंगे पुलमुनि बनाएको संरचनाले वर्षात्मा नदीको बहावलाई नेपालतर्फ फर्काएको छ । अब उक्त क्षेत्रमा त्यस्तै संरचना बने पुलदेखि टिंकरखेडा हुँदै डुमपानीसम्मको नेपालतर्फको तटबन्धमा जोखिम बढ्ने उहाँको भनाइ छ । झोलुंगे पुलमुनिको चौखट (स्टर्ड) भारतले चनाखो ढंगले बनाएको उहाँले बताउनुभयो ।
नेपालतर्फ महाकाली किनारको धेरै भाग छोडेर संरचना निर्माण भएका छन । भारतले पनि सोहीअनुसार संरचना निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । त्यतिबेला दुई देशको सर्भे टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर दुवै क्षेत्रका अधिकारीको समन्वयमा सीमामा संरचना निर्माण गर्ने सहमति भएको थियो । महाकालीको तलदेखि माथिसम्म नेपाल–भारतको सीमा बिन्दु कायम गरिएका छन । अहिले नदीले धार परिवर्तन गरेको भए पनि सीमा सर्भे टोलीले बिन्दु किटान गरिसकेकाले त्यही आधारमा संरचना बनाउनुपर्ने इन्जिनियर बडूको भनाइ छ ।
२०७७ पुसमा पनि भारतले एकतर्फी रूपमा सदरमुकाम खलंगास्थित जिल्ला अस्पतालको पारिपट्टि बाढीले धार परिवर्तन गरेको नदी क्षेत्र मिचेर करिब १२० मिटर बाँध बनाएको थियो । त्यतिबेला काम रोकेर दुवै देशबीच यसअघि भएको सहमतिअनुसार तटबन्ध निर्माण गर्न अनुरोध गर्दा भारतले अटेर गरेको थियो । बाढीले नदीको धार परिवर्तन गर्दा नेपालतर्फको भूभाग नदीपारि परेको थियो, त्यसैमा भारतीय पक्षले आफूखुसी तटबन्ध बनाएको थियो । त्यतिबेला बाढीपछि नेपालले नदी किनारमा तटबन्ध निर्माण गर्दा भारतीय प्रशासनले अवरोध गरेको थियो, भारतीय पक्षले पत्राचार गरेपछि दुवै देशले नदी किनारको केही भाग छोडेर मात्रै तटबन्ध निर्माण गर्न सहमति गरेका थिए ।
भारतले भने नदीको बहावमै असर पर्ने गरी अनधिकृत रूपमा तटबन्ध बनाउन लागेको स्थानीय बताउँछन । गत वर्ष भौराबगर पारिपट्टि भारतले बाँध निर्माण गरेको भूभाग बाढीपूर्व महाकालीवारिको बगर क्षेत्र रहेको स्थानीय बताउँछन । अहिले तटबन्ध निर्माण भइरहेको स्थल पनि नेपालको सार्वजनिक जमिन थियो । केही पर साविकको जिल्ला वन र भूसंरक्षण कार्यालयको भूभाग रहेको स्थानीयको भनाइ छ । भारतले नेपालतर्फ बहाब फर्किने गरी पक्की तटबन्ध बनाउदा समेत सरकारले रोक्न त के धारणा सार्वजनिक समेत गर्न सकेको छैन । दार्चुलामा सीमा अतिक्रमण गरेको भारतले महाकाली नदीमा समेत बहाब परिवर्तन हुने गरी विगतदेखि तटबन्ध निर्माणको काम गरिरहेको छ ।
–कान्तिपुरबाट मनोज बडूको तस्बिर र समाचार ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया