दार्चुला । बुधबार विहानैदेखि मौसम बदली भएपछि दार्चुलाको लेकाली भेगमा हिमपात भएको छ । ब्यास र अपिहिमाल गाउँपालिकाका लेकाली भेगमा तथा उच्च भू–भागहरूमा हिमपात सुरु भएको र जिल्लाभरी हल्का बर्षा भइरहेको स्थानीय बासीन्दाले बताएका छन् । यो बर्ष मात्रै करिब दर्जन पटक गाउँसम्मै हिमपात भइसक्यो, अपिहिमालका स्थानीय शान्ति मन्यालले भन्नुभयो, पटकपटकको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातले मानिससंगै गाईबस्तुहरूलाई पनि समस्या भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेकोले घर बाहिर निस्कन समस्या भएको अपिहिमाल गाउँपालिकाका अर्का स्थानीय कलावती रोकायले बताउनुभयो । लगातारको वर्षा र हिमपातले जिल्लाभरी नै चिसो बढेको छ ।
लेकाली बस्तीहरूमा हिउँ जम्न सुरु भएको स्थानीयबासीन्दाले बताएका छन् । अपिहिमालको केन्द्र खडेश्वरीमै यो बर्ष चार÷पाँच पटक हिमपात भइसकेको छ, स्थानीय कमलेश मन्यालले भन्नुभयो, हिमपातका कारण माघ महिना घर्किन लाग्दा समेत चिसो घट्न सकेको छैन् । अपिहिमालको पाथा, क्षत्ति, घाजिर लगायतका उच्च क्षेत्रका बस्तीमा पटकपटक बाक्लो हिमपात भएकोले जनजीवनमा प्रतक्ष असर परेको उहाँले बताउनुभयो । ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु र तिङ्कर गाउँमा पनि यो बर्ष दश/बाह्र पटक हिमपात भइसकेको छ ।
व्यास र अपिहिमाल गाउँपालिकाको गाउँसम्मै पटकपटक हिमपात भएको स्थानीयले बताएका छन् । अपि र व्याससंगै नौगाड, दुहुँ, मार्मा लगायत स्थानीय तहमा समेत हिमपात भएको छ । गत साता दार्चुलाका सबै स्थानीय तहमा हिमपात भएको थियो । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढी समस्यामा परेका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, सावधानी अपनाएर आगो ताप्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाब दिएका छन् ।
पटकपटकको हिमपातका कारण सञ्चार सेवा समेत अवरुद्ध बनेको छ । सञ्चार अवरुद्ध हुदा सेवाग्राहीले समस्या भोग्न बाध्य भएको गुनासो गरेका छन् । भरपर्दो सञ्चार सेवा नहुदा बेलाबेला सञ्चारसम्पर्कबाट बिच्छेद हुनुपर्ने अवस्था रहेको स्थानीय कोमल खत्रीले बताउनुभयो ।
हिमपातमा युवायुवतीहरु रमाउने गरेका छन् । हिमपातको समयमा हिउँ खेलेका तस्बिरहरुले सामाजिक सञ्जाल भरिने गरेको फेसबुक प्रयोगकर्ताहरु बताउछन् ।
दार्चुलाको अपिहिमाल गाउँपालिकामा विभिन्न समयमा भएको हिमपातपछि देखिएका दृश्यहरु । तस्बिर: सामाजिक सञ्जालबाट ।







विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया