दार्चुला । लेकम गाउँपालिकाको रिठाचौपातामा बुधबार दिउँसोदेखि विद्युत आपुर्ती बन्द भएको छ । विद्युत लाइनमा बुधबार देखि नै उर्जा थिएन, स्थानीय शिक्षक दिपक जोशीले भन्नुभयो, विहिबार (आज) विद्युत मिटर र ट्रान्सफर्मरमा आगलागी भएपछि अन्धकारमा बस्नुपरेको छ । विहिबार दिउँसो १ बजेपछि रिठाचौपातास्थित लक्ष्मी बैंक नजिक रहेको विद्युत मिटर र ट्रान्सफर्मरमा एक्कासी आगलागी भएको प्रतक्षदर्शी रमेश जोशीले बताउनुभयो ।
बुधबारदेखि बन्द रहेको लाइन मर्मत गर्ने क्रममा विद्युत छोड्दा मिटर र ट्रान्सफर्मरमा आगलागी भएको विद्युत कार्यालयले जनाएको छ । प्राविधिक सुरेश भट्टका अनुसार आगलागी भएर मिटर र ट्रान्सफर्मर जलेकोले नयाँ पठाउनका लागि नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र दार्चुलालाई अनुरोध गरिएको छ । यसअघि मिनिग्रेडको लाइनमा राष्टिय प्रसारणको विद्युत जडान गरेर सञ्चालन गरिएको थियो । २५ केभिएको मात्रै ट्रान्सफर्मर रहेकोले लोड धान्न मुस्कील हुने गरेको थियो । घरघरमा ग्राहक मिटर जडान नभएकोले लेकम गाउँपालिकाको नाममा रहेको साझा मिटर प्रयोगमा थियो, उक्त मिटरबाट घरमा रहेका सब मिटरसम्म विद्युत पठाइएको थियो । विद्युत अवरुद्ध भएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
उक्त मिटरमा आगलागी भएर पुरै जलेर काम नलाग्ने भएको छ । मिटरमा सल्केको आगो जमिनसम्मै पुगेको थियो । विद्युत आपुर्ती बन्द भएपछि लक्ष्मी बैंक लेकम शाखाको सेवा प्रभावित भएको छ ।
बैंकमा काम नभएपछि टाढाटाढाबाट आएका सेवाग्राहीहरु रित्तो हात फर्किएका छन् । बैंकमा रहेको जेनेरेटरमा समेत समस्या देखिएकोले कारोबार ठप्प भएको हो । जेनेरेटर मर्मतका लागि प्राविधिक बोलाएकोले मर्मतपछि मात्रै सेवा प्रवाह गर्न सकिने लक्ष्मी बैंक लेकम शाखाले जनाएको छ । विद्युत मिटर र ट्रान्सफर्मर फेर्नका लागि समेत पहल भइरहेको सरोकारवालाहरुले बताएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया