दार्चुला । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि चौतर्फी विरोध सुरु भएको छ । आज एमसीसी प्रतिनिधिसभामा टेबल भएको थियो। सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुको विरोधका बीच एमसीसी संसदमा टेबल भएको हो । विरोधका बीच एमसीसी संसदमा टेबल भएपछि विभिन्न पार्टीका युवा संघ तथा संगठन सडकमा उत्रेका छन् । नेकपा विप्लपले दार्चुलासहित देशभर विरोध प्रदर्शन गरेको छ । दार्चुला सदरमुकाम खलंगाका साथै विभिन्न गाउँमा विरोध प्रदर्शन गरिएको विप्लप नेकपाले जनाएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा समेत विप्लप निकट युवाहरुको अगुवाइमा विरोध प्रदर्शन गरिएको युवा नेता जिवन विष्टले जानकारी दिनुभयो ।
एमसीसी सम्झौताको विरोधमा विप्लप नेता, कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय दार्चुला पनि घेराउ गरेको बताएका छन् । एमसीसी खारेज गर्न माग गर्दै उनीहरुले विरोध गरिरहेको बताएका छन्। विभिन्न विद्यार्थी संगठन र राजनीतिक दलले समेत एमसीसीको विरोध गरिरहेका छन् । सासंदहरु भिम रावल, झलनाथ खनाल, प्रेम सुवाल, दुर्गा पौडेल लगायतले संसदमा एमसीसी सम्झौता टेबुल भएपछि आपत्ती जनाउदै विरोध गरेका थिए । सत्ता गठबन्धनमा एमसीसी टेबुल गर्ने सहमति भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी टेबुल गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उहाँले अब पारित हुने बताउनुभयो । एमाले, माओबादी, एकिकृत समाजवादी लगायत दलभित्र पास गर्ने र नगर्ने दुबै पक्षमा बिचारहरु बिभाजित देखिएका छन् । कांग्रेशका सबै सासंद एमसीसी पास गर्ने पक्षमा देखिएपनि अरु राजनीतिक दलहरु भित्र पास गर्ने कि फेल भन्नेमा सासंदहरुको मत विभाजित देखिएको छ ।
यसैबिच अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सम्झौता पेस गर्नुभयो । सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपालमा चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो प्रसारण लाइन बन्ने र विद्युत् सेवाको विस्तार र अन्तर्राष्ट्रिय बजार पाउने बताउनुभयो । यस्तै नमुनाको रूपमा गुणस्तरीय सडक पनि निर्माण हुने उहाँको भनाइ छ । सम्झौता कार्यान्वयनपछि झन्डै ५० लाख जना नेपाली लाभान्वित हुने पनि मन्त्री कार्कीको दाबी छ ।
संसद्को अर्को बैठक फागुन १२ गते बस्ने सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया