आज शिवरात्रि, गोकुलेश्वरमा मेला सुरु, जगतगुरु दार्चुलामा, तिर्थस्थलहरुमा भक्तजनको घुइँचो

दार्चुला । आज शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रीको अवसरमा दार्चुलाको गोकुलेश्वरस्थित चमेलिया किनार, दुहुँ, व्यास, मार्मा र महाकालीस्थित महाकाली र चमेलिया किनारमा रहेका तातोपानी क्षेत्र लगायत स्थानमा स्नान गर्ने भक्तजनको भिड लागेको छ । नेपालकै प्रशिद्ध पशुपति परिसर एवम् वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको भिड छ । शिवरात्रिलाई लक्षित गर्दै धार्मीक क्षेत्रहरुलाई सिँगारिएको छ ।

शिवरात्रिको दिन आज भक्तजनले शुद्ध भइ शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ । शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ । महाशिवरात्री अवसरमा गोकुलेश्वर मेला मंगलबार (आज) देखि सुरु भएको छ । दार्चुलाको गोकुलेश्वरमा शिवरात्रीको अवसरमा साताव्यापी ऐतिहासिक व्यापारीक मेलाको आयोजना गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । हरेक बर्ष गोकुलेश्वर क्षेत्रमा मेला सञ्चालन हुदै आएको छ । शिवरात्रीको दिन धार्मीक गतिविधिका साथै चमेलिया लगायत नदी किनारमा विहानैदेखि स्नान गर्ने भक्तजनहरुको घुइचो लागेको स्थानीय व्यापारी गंगादत्त जोशीले बताउनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा मानिसहरुको भिडभाड र व्यापारीक चहलपहल छ । गोकुलेश्वरमा व्यापारका लागि टाढाटाढाबाट समेत व्यापारी र ग्राहकहरु पुग्ने गरेका छन् ।

शिवरात्रीका अवसरमा तिर्थालु भक्तजनहरुका लागी तिर्थ स्थल र मन्दिर परिसरमा सरसफाई तथा रंगरोगन गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सिमानामा रहेको तातो पानी तिर्थ स्थलमा हिजो सरसफाई गरिएको थियो । आज विहानैदेखि उक्त क्षेत्रमा भक्तजनको घुइचो लागेको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको मालिकार्जुन मन्दिर परिसरमा सरसफाई गरिनुका साथै रंगरोगन गरिएको छ ।

मालिकार्जुनमा जगत गुरुको प्रवचन
नेपालको सातौ धाम मालिकार्जुन मन्दिर परिसरमा नेपाल राष्ट्रका प्रथम जगत गुरु अनन्त श्री बिभुषित बाल सन्त मोहन शरण देवाचार्यले प्रवचन दिनुभएको छ । जगत गुरु बाल सन्त श्री मोहन शरण देवाचार्यले यस अघि नै मालिकार्जुनमा ज्योर्तिलिङ्गको स्थापना गर्नु भएको थियो । शिवका १२ ज्योर्तिलिङ्ग मध्ये एक ज्योर्तिलिङ्ग मालिकार्जुनमा रहेका भन्दै उहाले ज्योर्तिलिङ्ग स्थापना गरेको बताइएको छ ।

जगत गुरु दार्चुलामा यस वर्ष तेस्रो पटक आउनु भएको हो । उहाँले सोमबार मालिकार्जुनमा श्रद्धालु भक्तजनहरुको उपस्थितिमा परम ब्रहम जितका बारेमा पुर्विय दर्शनमा आधारित प्रवचन गर्नु भएको छ । आज महाशिवरात्रीका दिन शैल्यशिखर नगरपालिकाले आयोजना गरेको शिवरात्री मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रवचनमा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्ट, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्ट लगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

सेना र सशस्त्रबिच फाइनल प्रतिस्पर्धा
नेपाली सेनाको स्थापना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाको गुरु गोरख गुल्मले आयोजना गरेको पुरुष भलिवल प्रतियोगितामा आयोजक नेपाली सेना र सशस्त्र प्रहरी बलबिच फाइनल प्रतिस्पर्धा हुने भएको छ । नेपाल पत्रकार महासंघको टिमलाई सशस्त्र प्रहरी बलको टिमले सोझो ३–० सेटमा हराउदै फाइनलमा प्रवेश गरेको हो भने, नेपाल प्रहरीलाई सोझो ३–० सेटमा हराउदै आयोजक नेपाली सेना पनि फाइनलमा प्रवेश गरेको हो । आज विहान ११ बजे फाइनल प्रतिस्पर्धा हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले मैत्रीपूर्ण खेल, सद्भाव र मेल, शत्रुताको नाश, मित्रताको बास भन्ने नारासहित भलिबल प्रतियोगिता आयोजना गरेको हो । नेपाली सेनाको गुरु गोरख गुल्म परिसर भित्र सञ्चालित प्रतियोगितामा स्थान हासिल गर्ने तथा सहभागी टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?