दार्चुला । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाका विकासका लागि आफू मन्त्री हुँदा सात अर्ब बढीको बजेट विनियोजन तथा सुनिश्चतता गरेको बताउनुभएको छ । पत्रकार महासंघ दार्चुलाले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठगुन्नाले जिल्लाको विकासका लागि आफ्नो पहलमा सात अर्ब बढीको विकासे बजेट विनियोजन तथा सुनिश्चितता भएको बताउनुभएको हो । आफू मन्त्री भएको समयमा महाकाली करिडोर अन्तरगत दार्चुला तिकंर सडक, गोकुलेश्वर विमानस्थल, खलंगा, खार, देथला, पारिबगर खण्डेश्वरी सडक, चमेलिया लिफ्टींङ कुणी कुसकाडा बृहत खानेपानी आयोजना, ५० शैय्याको जिल्ला अस्पताल लगायत विभिन्न परियोजना निर्माणका लागि बजेट विनियोजन तथा सुनिश्चित गरेको बताउनुभयो ।
पूर्वमन्त्री ठगुन्नाले उपेन्द्र यादव स्वास्थ्यमन्त्री भएको समयमा आफूले जिल्ला सदरमुकाम खलंगामा ५० शैय्याको अस्पताल निर्माणका लागि बजेट स्वीकृत गराएको बताउनुभयो । अहिले अस्पताल नमुनाका रुपमा विकास भइरहेको उहाँको भनाई छ । अहिले स्थानीय जनप्रतिनिधिहरु जस लिनका लागि अनेक हत्कण्डा अपनाइरहेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘अहिले भ्रम त के छ भने, अहिले पालिकाका मेयरहरु कोही ओभरसियरहरु आए भने फोटो खिचाएर हाम्रो पहलमा हुँदैछ भनेर हिडिरहेका छन् । तर यो कुरा स्थानीय पालिकाले गरेर हुने कुरा होइन् । कति वर्ष अगाडीको निर्णय हो । त्यती बेला को कहाँ थियो हेर्न आग्रह गर्दछु । सम्पूर्ण भवन निर्माणको काम सकिएपछि जिल्लाकै सुविधासम्पन्न अस्पतालका रुपमा विकास हुने उहाँको भनाई छ । विभिन्न कारणले भवन रोकिने अवस्था आउदा समेत ठूलो मेहनत गरेर आफ्नो पहलमा निर्माणको काम सुरु भएको उहाँले बताउनुभयो ।
यस्तै महाकाली करिडोर अन्तरगत दार्चुला तिंकर सडक निर्माणका लागि सडक निर्माणको ऐतिहासिक काम सुरु भएको उहाँले बताउनुभयो । एक वर्षमा इतिहासकै सबैभन्दा धेरै बजेट (तीन अर्ब ९७ करोड) विनियोजन भएको उल्लेख गर्नुहुँदै उहाँले यो सडक आयोजना जिल्लाकै मेघा प्रोजेक्टका रुपमा अगाडि बढेको बताउनुभयो । जिल्लामा चमेलियापछि सबैभन्दा ठूलो परियोजना तिंकर सडकमा लागू भएको उहाँको भनाई छ । नेता ठगुन्नाले भविष्यमा यस्ता योजनाहरु जिल्लामा लिएर आउन पनि अन्य राजनीतिक दलका नेताहरुलाई चुनौती दिनुभयो ।
नेता ठगुन्नाले अबको डेढवर्षभित्र दार्चुला जिल्लाभरीका सबै घरधुरीमा विद्युतिकरण गर्न पाइलट प्रोजेक्टका रुपमा कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । केन्द्रबाट परियोजना अगाडि बढ्नेगरी ९५ करोड बराबरको बजेट विनियोजन भएर टेण्डर प्रक्रियामा रहेको उहाँको भनाई छ । विद्युतिकरणका लागि जिल्लामा एकैवर्ष यति धेरै बजेट विनियोजन हुनु ठूलो सफलता भएको उहाँको भनाई छ ।
यस्तै नेता ठगुन्नाले गोकुलेश्वर विमानस्थल पुर्ननिर्माणका लागि पनि अहिले काम सुरु भएको बताउनुभयो । बैतडीको पाटन र गोकुलेश्वर विमानस्थल पुर्ननिर्माणको लागि अध्ययनको काम सँगै भएपनि गलत प्राविधिक रिपोर्ट र विभिन्न चलखेलका कारणले गोकुलेश्वर विमानस्थलमा ढिलाई भएको ठगुन्नाको भनाई छ ।
पुनः अध्ययनपश्चात तीन मिटर माथि उठाएर भएपनि विमास्थलल चलाउनुपर्छ भनेर आफूले काम सुरु गर्नका लागि निरन्तर पहल गरेको उहाँको भनाई छ । आफू मन्त्री हुँदा नै अर्थमन्त्रालयबाट ५० करोड बजेट सुनिश्चित भएको उल्लेख गर्दै ठगुन्नाले निर्माण कार्यमा ढिलाई भएपनि सुविधासम्पन्न र आधुनिक बन्ने बताउनुभयो ।
नेता ठगुन्नाले खानेपानी आयोजनाका लागि विभिन्न प्रविधि प्रयोग गरेर योजना अगाडि बढेको पनि बताउनुभयो । लेकमको कुणी कुसकाडा लगायत विभिन्न आसपासका गाउँहरुमा १३ सय घरधुरीका ५ हजार बढी जनसंख्या लाभान्वित हुने गरि चमेलिया लिफ्ट खानेपानी आयोजनामा अहिले काम द्रुत गतिमा अगाडि बढेको ठगुन्नाको भनाई छ ।
सडक अन्तरगत खलंगा खार देथला देखि लिएर मार्मा क्षेत्रको खण्डेश्वरीसम्म यातायातको पहुँच पुर्याउने काम भइरहेको र उक्त योजना प्रदेशको गौरवका रुपमा अगाडि बढेको उहाँको भनाई छ । प्रदेशको बजेटले मात्रै काममा ढिलाई हुने भएकाले रणनीतिक सडक अन्तरगत निर्देशिका बनाएर संघबाट ६० करोड बजेट गत वर्ष विनियोजन गरेको उहाँले बताउनुभयो । उक्त सडकमा पारिबगडसम्म कालोपत्रे गर्न टेण्डर अगाडि बढेको छ ।
यस्तै तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाउनु ठूलो उपलब्धि भएको ठगुन्नाको भनाई छ । उहाँले भन्नुभयो, ‘दार्चुलाको विकासका लागि यो कोशेढुंगा सावित भएको छ । पाँच वर्षभित्र सेनाले आयोजना सम्पन्न गर्छ होला । टुक्रे योजना संघबाट ल्याउने भन्दापनि ठूला योजना ल्याउने संस्कृतिको विकास हुनुपर्छ । नेताहरुले बजेट ल्याउँदा कार्यकर्ताको मन बुझाउने भन्दा जिल्लाको हित सोच्नुपर्छ । मैले व्यक्तिमुखि भन्दापनि जिल्लाको विकासका लागि हितकारी योजनाहरुमा ध्यान दिएर बजेट विनियोजनका लागि पहल गरे र अहिले बजेट विनियोजन भएको छ । एक वर्ष पनि भएर काम गर्न पाएको भए जिल्ला कायकल्प गर्ने थिए । तीन महिनामा मात्रै पनि सात अर्ब बजेट विनियोजन तथा सुनिश्चितता हुनु ठूलो कुरा हो ।’
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया