दार्चुला । दार्चुलामा रहेका नेपाल भारत जोड्ने सीमा पुल खुल्ने पुरानै समय कायम गरिएको छ । यसअघि सीमा पुल खुल्ने समय घटाउदा विभिन्न समस्या भएको भन्दै नेपाल र भारत दुबै देशतर्फका स्थानीय र व्यापारीहरुले पुल खुल्ने पुरानै समय कायम गराउन माग गर्दै आएका थिए ।
नेपाल भारत सीमा पुल खुला रहने समय विहान ७ बजे देखि बेलुका ७ बजे सम्म कायम गर्न भारतीय पक्ष तयार भैसकेकोले अबदेखि सीमापुल बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । दुई देशका प्रशासन प्रमुख बिच पुल खोल्ने र बन्द गर्ने समयका विषयमा भएको सामान्य छलफल पछि मंगलबार (आज) देखी विहान ७ बजे देखी बेलुकी ७ बजे सम्म नेपाल–भारत जोड्ने झोलुंगे पुल खुल्ला रहने उहाँले बताउनुभयो । भारतको प्रशासनले नेपाली प्रशासनलाई पत्र पठाउदै चैत्र १ गते देखी विहान ७ बजे देखी बेलुकी ७ बजे सम्म पुल खुल्ला रहने जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका भारतसंग जाडिएका सीमानाका खुल्ने पुरानै समय कायम नहुदाँ सीमा क्षेत्र वारपार गर्नेहरु समस्या झेल्दै आएका थिए । कोरोनाका कारण सीमानाका बन्द हुनु भन्दा पहिला भारत संग जोडिएका दार्चुलाका सीमापुल प्रत्येक विहान ७ बजे खुल्ने र साँझ ७ बजे बन्द हुने गरेका थिए । दार्चुलामा नेपाल र भारत जोड्ने हाल छ वटा सीमापुल सञ्चालनमा रहेका छन् । व्यास गाउँपालिकाको वडा नम्बर १ सीतापुल, वडा नम्बर ५ को तिग्रम, महाकाली नगरपालिका वडा नम्बर ४ को खलंगा, वडा नम्बर ९ को दत्तु, मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ को जोलजिवि र लेकम गाउँपालिका वडा नम्बर ३ को लाली सीमापुल सञ्चालनमा रहेका छन् । तुइन विस्थापन कार्यक्रम अन्तरगत थप दुई वटा पुल निर्माण भइसकेको र दुई वटा पुलको निर्माणकार्य जारी रहेको छ ।
तटबन्धबारे छलफल
भारतले महाकाली नदीको वहाव नेपालतर्फ धकेलिने गरी तटबन्ध निर्माण गरिरहेको विषयमा दुइ देशका अधिकारीहरुबिच छलफल भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र भारतको पिथौरागढ जिल्लाका डिएम आशिष चौहानबिच भारतको धारचुलामा भेटवार्ता भएको हो ।
पिथौरागढका डिएम चौहन धारचुला आएको बेला दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय र सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भेटेर सीमा नदी महाकालीको भारततर्फ खोतिला क्षेत्रमा निर्माण भइरहेको तटबन्धका विषयमा कुराकानी भएको बताइएकोछ । भारतले निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर स्थानीय स्तरमा तनाव उत्पन्न हुदा समेत सरकारले कुनै प्रतिक्रिया जनाएको छैन् ।
तटबन्ध निर्माणको विषयमा केहि दिन देखि उत्पन्न विवाद समाधान र आ–आफ्नै क्षेत्रमा तटबन्ध निर्माण गर्ने कुरामा भारतीय पक्षले सकारात्मक जवाफ दिएको बताइएको छ । दुई देशका प्राविधिकहरुको टोली छलफलमा बसेर क्षती नहुने ढंगले तटबन्ध निर्माण कसरी गर्ने भन्ने विषयमा मैखिक सहमति भएको र अनौपचारिक रुपमा छलफल गरिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया