दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल हुन सक्ने संकेत गरेका छन् । गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभएपनि कांग्रेसले लखेट्न खोजेको अवस्थामा एमालेसँग पनि ढोका बन्द नभएको हाँनले बताउनुभयो ।
लुम्बिनी प्रदेशको प्रदेशस्तरीय निर्वाचन केन्द्रित प्रशिक्षणलाई सम्बोधन गर्न बिहीबार बुटवल आएका दाहालले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राजनीति सम्भावनाको खेल भएकाले दुवै सम्भावना उत्तिकै रहेको बताएका हुन् ।
‘एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ उहाँले भन्नुभयो, ‘तर, कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन ।’ उहाँले देशभरका कार्यकर्तालाई आफ्नै शक्ति र आफ्नै एजेन्डामा तालमेलबिना नै निर्वाचन लड्न र जित्ने गरी तयार हुन निर्देशन दिएका छन् । गठबन्धनकाबीच तालमेल भइहाले पनि दशैभर नहुने र स्थानीय आवश्यकताका आधारमा मात्र हुने भएकाले आफ्नो संगठनलाई बलियो बनाउने, आर्थिक र राजनीतिक एजेन्डा लिएर जनतामा जाने र आफ्नै तागतमा उत्साहका साथ निर्वाचनमा होमिन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । तालमेलको विषयमा कांग्रेस र गठबन्धन दलका मुख्य नेतृत्वमा कुनै विमति नभएपनि केही नेताहरुमा अतिवादी प्रवृत्ति देखिएको उहाँले बताउनुभयो ।
एमसीसीको विषयमा देश र गठबन्धन दुवै संकटमा परेकाले आफूहरुको टोली देशलाई निकास दिन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेको तर, ओलीमा देशप्रतिको चिन्ता नदेखिएर पुरानो कुन्ठा मात्र प्रकट भएपछि केही विषय परिमार्जन गर्दै संविधानको अंग बनाएर एमसीसी पास गर्न माओवादी सहमत भएको दाबी गरेका छन् । उहाँले एमसीसीमा देखिएको समस्या र संशय टरेको भएपनि अझै प्रतिगमनको खतरा रहेको दाबी गर्नुभयो । त्यही खतराले गठबन्धन बलियो बनाउनु पर्ने र निर्वाचनपछि पनि गठबन्धन बनाएरै अघि बढ्नु पर्ने अवस्था रहेको गठबन्धनका नेतृत्वबीच सहमति भएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया