दार्चुला । भारतले दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्नेगरी धमाधम तटबन्ध निर्माणको काम गरिरहेको छ । नेपालतर्फ बाढी बस्ने गरी निर्माण भइरहेको तटबन्ध रोक्न यहाँका स्थानीयले माग गरेका छन् । भारतीय पक्षले सीमामा बलमिच्याइ गर्न थालेपछि शनिवार दार्चुलाबासी स्थानीयले सदरमुकाम खलंगास्थित आफ्नो भूमिबाट ढुगां प्रहार गर्दै विरोध जनाएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सभामुख, उपसभामुख सहितको प्रदेशसभा सदस्य र राजनीतिक दलहरुको टोली दार्चुलामा छ । तर उनीहरुले भारतीय पक्षले गरेको ज्यादती नदेखे झै गरेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो । यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेको भएपनि सरकारको तर्फबाट हुनै पहल नभएको उहाँले बताउनुभयो । तटबन्ध निर्माणका विषयमा भारतीय पक्षले समन्वय नै नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । नेपालतर्फ महाकालीको धार फर्किने गरेर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरु आन्दोलनमा उत्रिएको स्थानीयहरुले बताएका छन् ।

भारतले नेपाली क्षेत्रबाट निर्माण सामाग्री लगेर तटबन्ध निर्माण गरिरहदा समेत राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन बस्नु राष्ट्रघाती काम भएको स्थानीय कृष्ण धामीले बताउनुभयो । अन्तर्राष्ट्रिय सीमा नदी मिचेर पक्की तटबन्ध बनाइरहेको भारतीय पक्षले करिब सय मिटर क्षेत्रमा साँघुरिएर महाकाली बग्ने गरी पानीकै धार फर्काएको हो । भारतीय तटबन्ध र नदीको बदलिएको धारका कारण वर्षातमा बाढीले नेपालपट्टि क्षति गराउने जोखिम उच्च बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन् ।

तटबन्ध निर्माणलाई तीब्रता दिदैँ भारत
नेपाली पक्षको बिरोधका बाबजुत पनि भारतले दार्चुलास्थित सीमा नदी महाकालीमा एकतर्फी ढंगले तटबन्ध निर्माणलाई तीब्रता दिएको छ । नेपाली पक्षले काम रोक्न अनुरोध गर्नुका साथै बलमिच्याइ गरेपछि ढुगां हानिरहेका छन तर भारतीय पक्षले काम रोकेको छैन् । गत साता तटबन्धको निरीक्षणमा आएका पिथौरागढका प्रमुख जिल्ला अधिकारी डा. आशिष चौहानले काममा ढिलाई भएको र कर्मचारीले लापरवाही गरेको भन्दै एक जना प्राबिधिकको तलब रोक्का र प्रमुखलाई चेतावनी दिएको बताइएको छ । पिथौरागढ जिलाधिकारी चौहानले निर्माण कार्य सुस्त भएको र मनसुन सुरु हुनुभन्दा अगावै काम सक्न निर्देशन दिएको प्रतक्षदर्शीले बताएका छन् ।

महाकालीको बहाव नेपालतर्फ फर्काउँदै भारतले तटबन्ध निर्माण गरिरहेको छ । सीमा नदीमा कुनै पनि संरचना निर्माण गर्नुभन्दा अघि दुबै देशका बीचमा सहमती हुनुपर्ने अन्र्तराष्ट्रिय प्राबधान छ । तर भारतले बल मिच्याइँका साथ नेपाललाई प्रभाव पर्ने ढंगले काम गरिरहेको भन्दै स्थानीयले बिरोध गरिरहेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारतीय समकक्षिसँग पटक–पटक तटबन्ध निर्माणका बारेमा कुरा उठाउँदा पनि भारतले अटेरी गरी समन्वय समेत नगरेको प्रशासन स्रोतले जनाएको छ । भारतले ‘रेनफोर्स सिमेन्ट कक्रिट तटबन्ध’ नाम दिएर कामलाई तीब्रता दिएको छ ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?