दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ बाँकुमा बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि जीवितै उद्धार गरि बर्दिया लगिएको छ ।
बँदेलले बालिनाली नष्ट गर्नथालेपछि स्थानीयले बाँकुको देवी सामुदायिक बनमा पासो थापेका थिए । तर विहीबार बिहान हेर्दा पासोमा चितुवा परेको भेटिएपछि स्थानीयले प्रहरी र डिभिजन बन कार्यालय दार्चुलालाई खबर गरेका थिए । चितुवाको शरीरको पछिल्लो भाग पासोमा परेको र जीवितै अवस्थामा रहेकाले उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट उद्धारकर्ताहरुको टोली शुक्रबार दार्चुला पुगेको थियो । दार्चुलामा चितुवा उद्धारका लागि प्रविधि र जनशक्ति नहुदाँ जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा बर्दिया राष्ट्रिय निकुञ्जबाट शुक्रबार उद्धारकर्ताहरुको टोली दार्चुला पुगेको डिभिजन बन कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रमानन्द कुवरले बताउनुभयो ।
टोलीले चितुवालाई उद्धार गरेर थप उपचार तथा व्यवस्थापनका लागि शुक्रबार नै बर्दिया लगेको छ । चितुवाको उद्धारका लागि डिभिजन बन कार्यालय दार्चुलाका निमित्त प्रमुख सहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि लगायतको टोली समेत बाँकु पुगेको थियो । चितुवालाई बन क्षेत्रमा छोड्ने बताइएको भएपनि थप उपचार र व्यवस्थापनका लागि बर्दियामा सजिलो हुने भएकोले उतै लगिएको बुझिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया