दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेपाली कांग्रेशबाट तीन जनाको दाबी रहेको छ । गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी टुंग्याउन पटकपटक औपचारीक र अनौपचारीक छलफल भएपनि सहमति जुट्न सकेको छैन् ।
कांग्रेशबाट लेकम गाउँपालिका अध्यक्षका लागि २०७४ सालको निर्वाचनमा पराजित उत्तम नाथ, नेबिसंघ नेता इन्द्र साउद र जिल्ला कार्यसमिति सहसचिव एबं वडा नम्बर ३ का निर्वाचित अध्यक्ष राजेन्द्र जोशीले आकांक्षा देखाएका छन् । तीनै जनाले आफ्नो दाबी नछोडेपछि सहमति जुट्न नसकेको नेताहरु बताउछन् ।
शिक्षकबाट राजीनामा दिएर खुला राजनीतिमा होमिनुभएका वडा नम्बर ६ तेलिगाउँका उत्तम नाथ गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका परमानन्द जोशीसंग एक सय मतले पराजित हुनुभएको थियो । आसन्न स्थानीय तह निर्वाचनमा आफुले उम्मेदवारी दिने भन्दै उहाँले गत महिनादेखि नै घरदैलो भेटघाट अभियान थाल्नुभएको थियो । तर पार्टी भित्रबाटै उहाँको उम्मेदवारीका विषयमा सहमति जुट्न नसकेको तथा अध्यक्ष पदका आकांक्षि बढी देखिएकोले सहमति गर्न सकस देखिएको बताइएको छ । अध्यक्ष पदमा आकांक्षा देखाएका लेकम १ सर्मोलीका युवा नेता इन्द्र साउद कञ्चनपुरमा विद्यार्थी राजनीति गर्दै आउनुभएको थियो । उहाँको विषयमा समेत पार्टीभित्र सहमति जुट्न सकेको छैन् । वडा नम्बर ३ का वडाअध्यक्ष एबं नेपाली कांग्रेश जिल्ला कार्यसमिति सहसचिव राजेन्द्रप्रसाद जोशीले समेत गाउँपालिका अध्यक्ष पदमा आकांक्षा देखाएको बताइएको छ ।
गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी चयन र आसन्न स्थानीय तह निर्वाचनको तयारीका बारेमा सोमबार समेत लेकममा कांग्रेशको बैठक बसेको थियो । उम्मेदवारीका लागि आकांक्षा देखाएका कसैले पनि एक अर्काका लागि छोड्न नसकेपछि सहमति जुट्न नसकेको बैठकका सहभागिहरुले बताएका छन् । पालिकामा सहमति जुट्ने संकेत नदेखिएपछि आकांक्षिहरुको नाम जिल्ला कार्यसमितिमा सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ ।
लेकमको वडा नम्बर १ मा महादेब साउँद र वडा नम्बर ६ मा वर्तमान वडाअध्यक्ष कमलापती मिश्रलाई वडाअध्यक्षको उम्मेदवार बनाउने सहमति भइसकेको नेपाली कांग्रेश लेकम गाउँकार्यसमितिले जनाएको छ । वडा नम्बर २, ३, ४ र ५ मा सहमति जुट्न बाँकी रहेको छ । स्रोतका अनुसार वडा नम्बर ३ का वडाअध्यक्ष राजेन्द्र जोशीले गाउँपालिका अध्यक्षको उम्मेदवारी नपाएमा वडामै उम्मेदवार दोहोरीने र वडा नम्बर ४ मा वर्तमान वडाअध्यक्ष महेन्द्रराज जोशीलाई नै वडाअध्यक्षको उम्मेदवार बनाउने सम्भावना बलियो छ ।
लेकममा कांग्रेशले उम्मेदवारी चयनमा ध्यान दिएसंगै गठबन्धन हुने सम्भावना घट्दै गएको बताइएको छ । अझैपनि सत्तारुढ दलहरुबिच गठबन्धन हुने अवस्थामा लेकम गाउँपालिका अध्यक्ष माओबादीको भागमा पर्नसक्ने चर्चा भइरहेको छ । कांग्रेश नेताहरुले भने गत स्थानीय निर्वाचनमा समेत पाँच वडामा विजय हासिल गरेकोले एक्लै चुनावमा जाने र गठबन्धन गर्नुपर्ने अवस्था आएमा पनि शक्ति सन्तुलनका आधारमा कांग्रेशले पालिका नेतृत्व पाउँनुपर्ने माग गरिरहेका छन् । इन्द्र साउद लगायत केही नेताहरुले लेकममा गठबन्धन नहुने प्रतिक्रिया दिएका छन् ।
नेकपा एमालेले भने वर्तमान गाउँपालिका अध्यक्ष परमानन्द जोशीलाई नै फेरी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति गरिसकेको छ । माओबादी केन्द्रबाट अध्यक्ष पदमा प्रदेश कमिटी सदस्य एबं लेकम इन्चार्ज रामदत्त जोशीको उम्मेदवारी हुने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया