दार्चुला । दार्चुलासहित सुदूरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । दार्चुला, बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझांग र बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ ।
देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर, नन्द नहुने भाउनु र भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ । हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ ।
शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्षका लागि घर फर्किएका छन् । काम गर्नका लागि भारत पसेकाहरू बिसु मनाउन घर फर्किने गर्दछन ।
सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ । विशेष गरी घर छिप्ने कार्यमा महिलाहरू सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बैशाख सुरु भएसँगै रोग ब्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको छ ।
सबैले घरहरु छिपेर उज्यालो बनाएका छन् । आज दार्चुलाको लेकममा नौँकलइ समेत मनाइएको छ । मैखोली लगायत गाउँहरुमा नौँकलइ पर्व मनाइएको हो । नौँकलइ गरेपछि नयाँ अन्न खान सुरु गर्ने परमम्परा रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया