दार्चुला । बेसीतिर चैत–बैशाखको उखरमाउलो गर्मी उफानमा छ । हिमालको काँखमा घर–आँगन भएका मानिसलाई मात्र होइन्, याक, चौरी र झुपालाई पनि गर्मीले निक्कै हैरान पारेको छ । त्यसैले हिमाली सिर्सिरे हावाको कल्पना गर्दै व्याँस गाउँपालिकाको छाङरुका स्थानीय एबं वडाअध्यक्ष अशोकसिंह बोहरा कहिले वारि दार्चुला त कहिले पारि धार्चुला धाइरहनुभएको छ ।
महाकालीमा पनि निलो पानी बग्न थालिसकेको छ । ‘सायद हिउँ पग्लियो होला,’ हिउँदयाममा तल दार्चुला सदरमुकाम खलंगामा बसाइँ सरेका सौका समुदायका मानिस कल्पिइरहेका छन् । दार्चुलाको त्रिदेशीय सीमा बिन्दूमा रहेको व्याँस गाउँपालिकाका छाङरु र तिंकरका बासिन्दा कुञ्चा सर्ने अन्तिम तयारीमा छन् । जाडो छल्न वस्तुभाउसहित हिउँदमा बेसी झरेका उनीहरु गर्मीयाममा सामुहिक रुपमा त्यसरी नै पुनः आफ्नो रैथाने भूमिमा फर्किन्छन । यो मौसम आउजाउको शिलशिलालाई सौका समुदाय कुञ्चा सर्ने भन्छन ।
अशोकसिंह बोहरा छाङरु र तिंकरका निर्वाचित वडाध्यक्ष हुन् । त्यसैले सबैको नेतृत्व गरेर सुरक्षित रुपमा गाउँ पुर्याउने जिम्मा पनि उनकै काधमा छ । शनिवार वडाध्यक्ष बोहरालाई सम्पर्क गर्दा उनी यात्रा अनुमतिका लागि भारतीय बजार धार्चुलाको तहसिलको चक्कर लगाइरहेका थिए । ‘गाउँ उक्लिनका लागि स्वेदशबाट बाटो छैन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले भारतबाट जान यहाँको प्रशासनको यात्रा अनुमतिको पर्खाइँमा छौं ।’
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको मुन्तिरका छाङरु र तिंकरका बासिन्दालाई आफ्नै गाउँ जान पनि भारतको अनुमति लिनुपर्ने बाध्यता छ । ‘नेपालबाट एक्लै जान त मुश्किल छ, वस्तुभाउ र सरसमानसहित कसरि जानु,’ बोहराले भन्नुभयो, ‘अहिले कतिपय ठाउँमा सेनाले बाटो बनाइरहेको छ, सायद अर्को वर्षबाट आफ्नै भूमि भएर निर्धक्क जान सकिएला ।’
दार्चुलाको खलंगास्थित जिल्ला समन्वय समिति र इलाका प्रशासन कार्यालय व्याँस (जो अहिले सदरमुकाममै छ) ले करिब ७ सय भन्दा बढीलाई यात्रा स्वीकृतिका लागि भारतीय प्रशासनलाई सिफारिस गरेको छ । त्यही सिफारिस पत्र बोकेर वडाध्यक्ष बोहरा तहसिल धाइरहनुभएको हो । भारतीय प्रशासनले उनीहरुलाई तीन दिनको समय दिने भनेको छ । भारतले लिपुलेक जोड्ने मानसरोवर राजमार्गको बिस्तार गरिरहेकाले समय सीमा तोकिदिएको हो ।
व्याँसबासी दार्चुलाको पुलघाटमा महाकाली तरेर धार्चुला हुँदै उत्तरको कठिन यात्रापछि सीतापुल पुग्ने छन् । त्यहाँ पुनः महाकाली तरेर छाङरु र तिंकरस्थित थातबासमा पुग्ने छन् । एक जनालाई गाउँ कुरुवा छाडेर सबैजना हिउँदमा बेसी झरेका थिए । ‘हामी १३, १४ र १५ गते खलंगाको सीमा पुल पार गरिसक्ने छौं,’ वडाध्यक्ष बोहराले भन्नुभयो, ‘स्थानीय तह चुनाव आएकाले पनि गाउँ पुग्न सबै हतारिएका छन् ।’
–सीमारेखाबाट
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया