दार्चुला । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार दार्चुलामा अधिकांश मृत्यु भइसकेका मतदाताहरुको नाम मतदाता नामावली सूचीबाट हटेको छैन् । स्थानीय तहहरुले निर्वाचन कार्यालयबाट माग भए अनुसारको विवरण भरेर नदिदा मृत्यु भएकाहरुको सूची नहटेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचन कार्यालयले जिल्लाका ९ वटै स्थानीय तहहरुबाट मृत्यु भएकाहरुको विवरण हटाउन सूची मागेको थियो । मृत्युदर्ता प्रमाणपत्र देखि लिएर वडा कार्यालयबाट जानकारी माग गरेपनि स्थानीय तहले सूची विवरण दिन नसक्दा मतदाता नामावलीबाट मृत्यु भएकाहरुको नाम सच्याउन नसकिएको जोशीले बताउनुभयो । दार्चुलाको अपिहिमाल गाउँपालिकाले मात्रै पूर्ण विवरण भरेर पठाएको थियो । त्यो बाहेकका स्थानीय तहहले आयोगले माग गरे अनुसार विवरण नबुझाउदा जिल्लाबाट ६०२ जनाको मात्रै मतदाता सूचीबाट नाम हटेको छ ।
व्यास गाउँपालिका र दुहुँ गाउँपालिकाले कुनै पनि वडाबाट मृत्यु भएकाहरुको विवरण पठाउँदै पठाएन्, सूचना अधिकारी जोशीले भन्नुभयो, शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, नौगाड गाउँपालिका लगायतका स्थानीय तहबाट केही वडाको मात्रै विवरण प्राप्त भएपछि मृत्यु भएकाहरुको नाम हटाउन नसकिएको हो । स्थानीय तहका वडाहरु बाटै विवरण पठाउन नसक्दा मृत्यु भएका व्यक्तिको विवरण मतदाता सूचीबाट हट्न नसकेको बताइएको छ ।
निर्वाचन कार्यालय दार्चुलाका अनुसार अहिले दार्चुलामा कुल ८८ हजार २८५ जना मतदाता रहेका छन् । जुन २०७४ सालको स्थानीय तहको निर्वाचनको भन्दा १४ हजार ३७९ जना बढि हो । स्थानीय तह निर्वाचन २०७४ सालमा दार्चुलामा ७३ हजार ९०६ जना मतदाता रहेका थिए । दार्चुलामा ११० वटा मतदान स्थल र १३९ वटा मतदान केन्द्रहरु रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीप सिंह धामीले बताउनुभयो । जिल्ला भरी वैशाख ८ गते भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्नु पर्ने उहाँले बताउनुभयो ।
निर्वाचनमा पुरानै मतपेटिका प्रयोग गरिने पनि जनाइएको छ । निर्वाचन सम्बन्धि आवश्यक सामाग्रीहरु आउने क्रम जारी रहेको धामीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया