दार्चुला । दार्चुलामा प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेश र नेकपा माओबादी केन्द्रबिच स्थानीय तह निर्वाचनमा भागबण्डा मिलेपनि पालिकास्तरीय नेता कार्यकर्ताहरु भने असन्तुष्ट देखिएका छन् । सबैजसो स्थानीय तहका स्थानीय नेता कार्यकर्ताले असन्तुष्टि प्रकट गरेपनि नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामा भने धेरै कार्यकर्ताले पार्टीबाट राजीनामा वा पार्टी परित्यागको घोषणा नै गरेका छन् ।
शैल्यशिखर नगर पालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष परमानन्द तितरा (मिम्वर) ले दार्चुला जिल्लाको अपवित्र गठबन्धनबाट विद्रोह गर्दै नेकपा एमालेमा प्रवेस गर्नुभएको छ । वडा कमिटी अध्यक्ष तितरालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य रामदत्त जोशी, लालबहादुर बिश्वकर्माका साथै शैल्यशिखरको मेयरका उम्मेदवार विजयसिंह धामी, उपमेयरका उम्मेदवार लगायतले एमालेमा स्वागत गरेको एमाले नेता गंगादत्त जोशीले जानकारी दिनुभयो । यस्तै नौगाड गाउँपालिकामा नेपाली कांग्रेशका वडा सभापति र गाउँपालिका अध्यक्ष पदका आंकाक्षि लगायतले पार्टीबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेश नौगाड गाउँपालिका वडा नम्बर १ ईयरकोटका सभापति नन्दनसिंह ठगुन्नाले नेपाली कांग्रेशका कर्मठ स्थानीय कार्यकर्ताको चाहाना र आवश्यकतालाई लत्याउदै पार्टीलाई दिर्घकालिन रुपमा असर पर्ने गरी गठबन्धन गरिएको भन्दै राजीनामा दिनुभएको छ । यस्तै नौगाडबाट गाउँपालिका अध्यक्ष पदका आकांक्षि कांग्रेशका केन्द्रीय महाधिवेसन प्रत्यासी एबं पूर्व डिएसपी लालबहादुर धामीसहित दर्जनबढीले सामुहिक राजीनामा घोषणा गरेका छन् । नेताहरुले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर पार्टी र कार्यकर्ताको हित विपरीत विचारै नमिल्ने दलहरुसंग भागबण्डा गरेर पार्टीलाई सिद्धाउन खोजेको उनिहरुको बुझाइ छ ।
कार्यकर्तालाई अर्को पार्टीको चुनाव चिन्हमा मतदान गर्न निर्देशन दिएपछि कार्यकर्ताले गठबन्धन बाहिर गएर समेत उम्मेदवार चयन गर्न सक्ने वा बाहिरको राम्रो उम्मेदवारलाई विजयी गराउन सक्ने असन्तुष्ट माओबादी र कांग्रेशका नेता कार्यकर्ताको प्रतिक्रिया छ । भागबण्डाका विषयमा नेकपा एकिकृत समाजवादीले भने आपत्ती जनाएको छ ।
यस्तो छ दार्चुलाका कांग्रेश माओबादी भागबण्डा
दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टीलाई पाखा लगाउदैं नेपाली काङ्ग्रेस र नेकपा माओवादीले चुनावी भागबन्डा टुग्याएका छन् । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दल कांग्रेश र माओवादी बिच भागबन्डामा सहमति भएको हो ।
दार्चुलाका ९ वटा स्थानीय तहहरु मध्ये पाँच वटामा नेपाली कांग्रेश र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा २ वटै नगरपालिका सहित तीन गाउँपालिकामा नेपाली कांग्रेशले प्रमुख तथा अध्यक्ष पद पाउने छ । भने बाकि चार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले पाउने गरि सहमती भएको नेकपा माओबादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव एबं वार्ता कार्यदल सदस्य प्रेम राज पन्तले जानकारी दिनुभयो ।
नेपाली कांग्रेशले महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिकामा प्रमुख तथा दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा अध्यक्ष पाउने र माओवादीले मार्मा गाउँपालिका, अपी हिमाल गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकामा अध्यक्ष पाउने सहमति भएको छ । त्यसैगरि उपाध्यक्ष तथा उप प्रमुख पदमा दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात पदमा नेपाली कांग्रेश र दुई गाउँपालिकामा नेकपा माओवादीले उम्मेदवारी पाउने सहमति भएको पन्तले बताउनुभयो ।
अपीहिमाल, मार्मा, शैल्यशिखर, महाकाली, लेकम, दुहुँ र नौगाडमा उपप्रमुख/उपाध्यक्ष कांग्रेशले पाएको छ भने माओवादीले व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा उपाध्यक्ष पाएको छ । दार्चुलाका ६१ वडाहरुमा ४४ वडामा नेपाली कांग्रेश र १७ वडामा नेकपा माओवादीले पाएको बताइएको छ । माओबादीले २० भन्दा बढी वडा पाउनुपर्ने अडान राखेपनि १७ मा सहमति जुटेको हो । नेकपा एकीकृत समाजबादीलाई वडा सदस्यरुमा आवश्यकताका आधारमा भागबन्डा दिने तय गरिएको उहाँको भनाई छ ।
समाजवादीले भने यो निर्णयमा असन्तुष्टि जनाउदै प्रदेश संयन्त्रमा बिषय प्रवेश गराउने जनाएको छ । कांग्रेश र माओबादीकै कतिपय नेता, कार्यकर्ताले भागबण्डाप्रति असन्तुष्टि जनाउन थालेकोमा सामाजवादीको यस्तो प्रतिक्रियालाई स्वभाविक मान्न सकिन्छ । ‘यस्तो सहमतिमा हाम्रो आपत्ती छ, जिल्ला संयन्त्रमा भएका हाम्रा प्रतिनिधिका कुरा नसुनेर दुई पार्टी मिलेर पेल्ने काम भयो,’ समाजवादीका जिल्ला इन्चार्ज नरेन्द्र बिष्टले भन्नुभयो, ‘यसबारेमा प्रदेश संयन्त्रमा कुरा उठाउछौँ ।’ उहाँका अनुसार महाकाली र शैल्यशिखरमा मिल्ने अवस्था हुँदाहुँदै एकतर्फी ढंगले समाजवादीलाई पेल्ने काम भएको छ । शैल्यशिखरमा माओबादी नेताहरुले समेत भागबण्डाप्रति असन्तुष्टि जनाउदै गठबन्धन लागु नहुने अभिव्याक्ति दिएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेशले ५ स्थानीय तह, नेकपा एमालेले ३ र नेकपा माओवादीले १ स्थानीय तह जितेको थियो । भने दार्चुला जिल्ला भरि रहेका ६१ वटा वडाहरु मध्ये ३५ वडामा नेपाली कांग्रेश, २० वडामा नेकपा एमाले र ६ वटा वडामा नेकपा माओवादीले जित हासिल गरेको थियो । गत निर्वाचनमा एक स्थानीय तहमा मात्रै जित हासिल गरेको माओवादीले यस पटक चार पालिकाको प्रमुख र दुईमा उप प्रमुखका लागि अवसर पाउनु सकारात्मक भएको नेताहरुको प्रतिक्रिया छ । नेपाली कांग्रेशका अधिकासं कार्यकर्ताहरुले भने भागबन्डा प्रति समाजिक सञ्जालदेखि अनौपचारीक बैठकहरुमा असन्तुष्टि पोखिरहेका छन् । माओबादीकै समेत कतिपय स्थानीय नेता कार्यकर्ताले भागबण्डाप्रति असन्तुष्टि जनाउदै आएका छन् ।


यसैबिच लेकम गाउँपालिकामा अध्यक्ष माओबादी केन्द्रले पाउने भएको छ । उपाध्यक्षसहित छ वटै वडा कांग्रेशले पाउने बताइएको छ । उपाध्यक्ष छनोटका बिषयमा बुधबार (आज) कांग्रेशको बैठक बसेपनि सहमति जुट्न नसकेपछि जिल्ला कार्यसमितिलाई सिफारिस गरिएको छ । माओबादीबाट अध्यक्षका उम्मेदवार रामदत्त जोशीको प्रमुख आतिथ्यतामा माओबादीले निर्वाचनबारे रणनीति तय गर्न विहिबार रातामाटामा बैठकको आयोजना गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया