दार्चुला । स्थानीय तह निर्वाचनका लागि दार्चुला सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सबै स्थानीय तहका केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन् । दार्चुला जिल्ला अदालतको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एबं जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यले जानकारी दिनुभयो ।
दार्चुला जिल्लाका ९ वटै स्थानीय तहमा आजै निर्वाचन अधिकृतको कार्यालयहरू पनि स्थापना भएका छन् । जिल्ला सदरमुकाम खलंगामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले महाकाली नगरपालिकाको समेत निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको छ । लेकम गाउँपालिकाको केन्द्र रातामाटा, व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा, दुहुँ गाउँपालिकाको केन्द्र हिकिला, नौगाड गाउँपालिकाको केन्द्र होपरीगाड, मालिकार्जुन गाउँपालिकाको केन्द्र पस्ती, शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वर, मार्मा गाउँपालिकाको केन्द्र लटिनाथ र अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
महाकाली नगरपालिकामा जिल्ला न्यायाधिस एवं मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्य, व्यास गाउँपालिकामा कौशलेश्वर ज्ञवाली, दुहुँ गाउँपालिकामा बुद्धिलाल श्रेष्ठ, मालिकार्जुन गाउँपालिकामा ओम प्रसाद भट्टराई, लेकम गाउँपालिकामा ज्ञानेन्द्र पराजुली, शैल्यशिखर नगरपालिकामा हरि सिंह धामी, नौगाड गाउँपालिकामा गोबिन्दराज सेदाई, मार्मा गाउँपालिकामा लवराज जोशी र अपिहिमाल गाउँपालिकामा दिपक ज्ञवाली निर्वाचन अधिकृत भएर खटिनु भएको भएको छ ।
दार्चुलामा ११० मतदानस्थद र १३९ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरी ८८ हजार २ सय १५ जना मतदाता रहेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते उम्मेदवार माथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ, भने १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ । उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणना लगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया