दार्चुला । दार्चुलासहित देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तका अनुसार जिल्लाका १६ वटै परीक्षा केन्द्रबाट परीक्षा सुरु भइसकेको छ । यो वर्ष ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा पनि नियमिततर्फको परीक्षासंगै भइरहेको छ ।
यसअघि नै दार्चुलाका १६ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेर कार्यक्षेत्रमा खटाउने र परीक्षा सामाग्री पठाउने काम भएको थियो । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरुलाई शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले निर्देशित गरेको छ । यस वर्षको एसइई परीक्षामा जिल्लाका ३ हजार १ सय जना विद्यार्थी सहभागी हुने बताइएको छ । नियमिततर्फ ३ हजार ३० जना र ग्रेड वृद्धितर्फ ७० जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् । दार्चुलामा तीन वटा प्राविधिक धारका माद्यमिक विद्यालय छन् ।
परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा देशभर दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित हुँदैछन् । प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी छन् । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४५४ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षाका लागि देशभरि दुई हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अर्जुनबहादुर रायमाझीले यस वर्ष जापानमा १९ जना परीक्षार्थी परीक्षामा सम्मिलित हुने जानकारी दिनुभयो । जापानमा इमेलबाट प्रश्नपत्र पठाइएको छ । अनिवार्य विषयका प्रश्नपत्र हरेक प्रदेशको फरक फरक छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया