दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्ष पदमा माओबादी नेता दलजितसिंह धामी विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेश नेता जगतसिंह ठगुन्ना विजयी हुनुभएको छ । अध्यक्षमा एमाले उम्मेदवार प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेबी ठगुन्ना पराजित हुनुभयो ।
नौगाड गाउँपालिका वडा नम्बर १, ३ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भने वडा नम्बर २, ४ र ५ मा नेकपा एमाले विजयी भएको छ । नौगाड गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओबादी नेता दलजितसिंह धामी तीन हजार ७८३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । अध्यक्षमा पराजित भएका एमाले उम्मेदवार प्रेमसिंह धामीले तीन हजार २७७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेश नेता जगतसिंह ठगुन्ना तीन हजार ९५६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । पराजित भएका एमाले उम्मेदवार गौरीदेबी ठगुन्नाले दुई हजार ९५२ मत प्राप्त गर्नुभएको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएसंगै नेता कार्यकर्ता र शुभचिन्तकहरु खुसीयाली मनाइरहेका छन् ।
यसअघि अपिहिमाल गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकी बोहरा निर्वाचित हुनुभएको छ ।
अन्तिम मत परिणामअनुसार ठेकरेले २ हजार ३१२ मत प्राप्त गर्नुभएको छ । उहाँले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले का उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गर्नुभयो । पराजित मन्यालले १ हजार ३८५ मत ल्याउनुभयो । २०७४ सालमा मन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने ठेकरे मन्यालसंगै पराजित हुनुभएको थियो ।
उपाध्यक्ष निर्वाचित नेपाली कांग्रेसकी देवकी बोहराले २ हजार २७ मत ल्याउनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याउनुभयो । वडाहरुमा समेत गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । छ वटै वडामा एमाले उम्मेदवार पराजित भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया