दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका लोकेन्द्र राना (शितल) लाई पछि पार्दै उनी अध्यक्षमा विजयी भएका हुन् । जोशीले ३ हजार १८९ मत प्राप्त गरे भने रानाले २ हजार ६४१ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । उनले ३ हजार ८७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलावती जोशीले २ हजार ७७९ मत पाइन् ।
यस्तै डिलाशैनीका ७ वडा मध्ये ३ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एमाले र कांग्रेस दुई÷दुई वडामा विजयी भएका छन् । वडा नम्बर १ मा कांग्रेसका कृष्णकुमार धामी, वडा नम्बर २ मा एमालेका नवराज घरडी, वडा नम्बर ३ मा एमालेका रघुबीर बोहरा, वडा नम्बर ४ मा स्वतन्त्रका हरिदत्त पन्त, वडा नम्बर ५ स्वतन्त्रका यज्ञराज भट्ट, वडा नम्बर ६ मा कांग्रेसका उत्तरबहादुर बोहरा र वडा नम्बर ७ मा स्वतन्त्रका प्रकाशमणी भट्ट विजयी भएका छन् ।
पालिका अध्यक्षमा निर्वाचित जोशी एमालेबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेका थिए । एमालेको युवा संगठन राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका जोशीले पार्टीका सबै संगठनबाट राजीनामा गरेर चुनावी मैदानमा होमिएका थिए । पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका उनी तीन जना वडा अध्यक्ष सहित निर्वाचित भएका छन् ।
एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालसंगको टक्करकै कारण उनले पार्टीबाट विद्रोह गरेका हुन् । पार्टीबाट टिकट पाउन नसकेपछि जोशी स्वतन्त्र उम्मेदवार बनेका थिए । सन्तोष विजय भएसंगै डिलाशैनीबासीले विजयउत्सब मनाइरहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया