दार्चुला । लेकम गाउँपालिकासहित अधिकासं स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । लेकम गाउँपालिकामा निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय रातामाटाले जनाएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र प्रदान गरिएको हो । महाकाली, शैल्यशिखर, दुहुँ, अपिहिमाल लगायत अधिकासं स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले पनि प्रमाणपत्र बुझिसकेका छन् ।
देशभरका ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालको आज (बिहीबार) अन्तिम दिन हो । २०७४ मा चार चरणमा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिको कार्यकाल जेठ ६ गते सुरु भएको थियो ।
स्थानीय तहको दोस्रो कार्यकालका लागि गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० गाउँपालिकामा नयाँ जनप्रतिनिधिका लागि कतै नतिजा आइसकेको छ भने कतै मतगणना जारी छ ।
दार्चुलाका नौँ स्थानीय तहमध्ये दुबै नगरपालिकासहित पाँच पालिकामा नेकपा एमालेले प्रमुख तथा अध्यक्ष जितेको छ भने चार गाउँपालिका अध्यक्षमा माओबादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेशले पनि दार्चुलाको कुनैपनि स्थानीय तह प्रमुखमा जित हासिल गर्न सकेन । तीन स्थानीय तह उपप्रमुख/उपाध्यक्षमा एमाले, चार गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेश र दुई गाउँपालिका उपाध्यक्षमा माओबादी विजयी भएको छ ।
६१ वडा रहेको दार्चुलाका ३४ वडामा एमाले विजयी भएको छ । यस्तै १७ वडामा नेपाली कांग्रेश र १० वडामा नेकपा माओबादी केन्द्र विजयी भएको छ । महाकाली नगरपालिकामा एमाले–६ र कांग्रेस–३, शैल्यशिखर नगरपालिकामा एमाले–८ र काँग्रेस–१, व्यास गाउँपालिकामा एमाले–५ र कांग्रेश–१, नौगाड गाउँपालिकामा एमाले-३, माओबादी-२ र कांग्रेश-१, अपिहिमाल गाउँपालिकामा कांग्रेस–३ र माओवादी–३, मार्मा गाउँपालिकामा एमाले–२, कांग्रेस–१ र माओवादी–३, दुहुँ गाउँपालिकामा एमाले–२, कांग्रेस–२ र माओवादी–१, मालिकार्जुन गाउँपालिकामा एमाले–४, कांग्रेस–३ र माओवादी–१, लेकम गाउँपालिकामा एमाले–४ र कांग्रेस–२ वडामा विजयी भएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया