दार्चुला । देशकै सात धाममध्येको एक धाम शैल्यशिखर मल्लिकार्जुनको शिखर धुरामा मंगलबार (आज) ठूलो पुजन जात्रा लागेको छ। पुजन जात्रामा सहभागि हुन भक्तजनहरु सोमबारदेखि नै शिखरतर्फ लागेका छन्। हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न सयौंको संख्यामा भक्तजनहरु मालिकार्जुन पुगेको मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनक सिंह धामीले जानकारी दिनुभयो ।
शिखर पुजन जात्रामा दार्चुला, बैतडी, डडेल्धुराका साथै सुदूरपहाड र भारतको उत्तराखण्डबाट समेत भक्तजनहरु सहभागि हुने गरेका छन् । विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडि देखि नै शुद्ध भएर शिखर जाने प्रचलन रहिआएको छ। शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास छ ।
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कात्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ । मनोकामना पूरा हुने विस्वासका साथ भक्तजनहरु शिखर जात्रामा सहभागि हुने र पुजाआजा गर्ने गरेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया