मन्त्री बडूलाई भेटेर परिसङ्घले भन्यो–जग्गा भाडा घटाइयोस्

दार्चुला । नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूको बढाइएको जग्गा भाडा तत्काल फिर्ता गर्न आग्रह गरेको छ । परिसङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसङ्घ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उद्योग सचिव अर्जनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा फिर्ता गर्न र दीर्घकालीन रूपमा समस्या समाधान गर्न आग्रह गरेको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ साउन १ गते देखि लागू हुने गरी अधिकतम ६ सय ८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । उद्योगीहरूको असहमति तथा विरोधपछि निर्णय तत्काल कार्यान्वयन नगर्न र यो विषयमा विस्तृत अध्ययन गर्न सरकारले निर्देशन दिएको थियो । तर गएको असार २२ गते बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पुनः २०७५ साउन १ गते देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ ।

उत्पादनमूलक उद्योगमा हुने लगानी नै प्रभावित हुने तथा निजी क्षेत्रलाई हतोत्साहित गर्ने गरी भएको निर्णय फिर्ता लिन परिसङ्घले आग्रह गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगमा रहेका उपकरणका आधारमा विद्युतको डिमान्ड चार्ज लिने, उद्योगलाई आवश्यक पानी उद्योग आफैँले बोरिङ गरी निकालेको पानीमा समेत मिटर जडान गरी शुल्क लिने तथा अवाञ्छित किसिमले जग्गाको भाडा बढाउने लगायतका कार्यप्रति परिसङ्घको गम्भीर आपत्ति रहेको छ ।

कार्यवाहक अध्यक्ष अधिकारीले छिटो समस्या समाधान गरी उद्योगहरूलाई सहज रूपमा काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । परिसङ्घसँगको भेटमा मन्त्री बडूले भाडा वृद्धिसम्बन्धी विषयलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उद्योग सचिव पोखरेलले औद्योगिक क्षेत्रमा लगानीकर्ताले सहज रूपमा उद्योग सञ्चालन गर्न पाउनुपर्ने भन्दै उद्योगी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबीच छलफल गरी दीर्घकालीन रूपमा समस्या समाधान गरिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?