मङ्सिर ४ गते चुनाव हुने, भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित, १० लाख मतदाता थप

दार्चुला । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो । यसैबीच मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मङ्सिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ । २०७४ सालमा मङ्सिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो ।

भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । आयोगले आज बिहीवार पत्रकार सम्मेलन गरेर केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताउनुभयो । तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा पर्सि २१ गतेसम्म समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

यस्तै आयोगले मतदान स्थल र केन्द्रको पुनरावलोकन गरेर पुनः निर्धारण गर्ने, राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गर्ने, निर्वाचन कार्यक्रम र तालिका तय गर्ने, जनशक्तिको आँकलन गरेर विवरण सङ्कलन र अद्यावधिक गर्ने लगायतका काम पनि तुरुन्त प्रारम्भ गर्ने उहाँले जानकारी दिनुभयो । चुनावको खर्चको अनुमान गरेर सरकारसँग बजेट माग गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आह्वान गर्ने प्रक्रिया सुरु गर्ने पनि उहाँले जानकारी दिनुभयो । आयोगले चुनाव स्वच्छ, निष्पक्ष तरिकाले सम्पन्न गराउन तयार रहेको र यस कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गरेको छ ।

१० लाख मतदाता थपिने
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै १० लाख जना मतदाता थपिने अनुमान गरेको छ । निर्वाचन आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गएको वैशाख ३० गते भएको पालिका चुनावमा एक करोड ७७ लाख जना मतदाता रहेकोमा आउँदो चुनावमा १० लाख जना बढेर एक करोड ८५ देखि करोड ८७ लाख जना पुग्ने अनुमान गरिएको बताउनुभयो ।

यसैबीच आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको आयोगले जनाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनाव मङ्सिर ४ गते देशैभर एकै चरणमा गर्ने निर्णय हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?