दार्चुला सहित सुदूरपश्चिममा आज ‘ठुली गौरा’ मनाइँदै

दार्चुला । दार्चुला सहित सुदूरपश्चिममा आज गौरा पर्वको दोस्रो दिन ‘ठुली गौरा’ मनाइँदैछ। यस वर्ष बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको हो। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो।

तिथी घटबढका कारण कतिपय ठाउँमा हिजो नै नानी गौरा मनाइएको छ भने कतिपय ठाउँमा आज नानी गौरा पनि मनाउँदैछन् । बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई नजिकका धारा अथवा तलाउमा लगेर धुने गर्दछन् ।

गौरा पूजनका लागि बिरुडा भिजाएर मनाइने गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउनेछन्। आजको दिनलाई ‘ठूली गौरा’ भनेर मनाइन्छ। व्र्रतालु महिलाहरुले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।

‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन्। साउँ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइन्छ। व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।

आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्। यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्डस्नान गर्ने गर्दछन्। गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रहीआएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?