दार्चुला । शुक्रबार (हिजो) रातीदेखिको अविरल बर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । स्थानीय एबं उद्योग बाणिज्य संघ दार्चुलाका पूर्वअध्यक्ष मंगल ठगुन्नाका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्दार गरेका छन् । मानिसहरु सबै रातीदेखिनै घरबाहिर निस्किएका छन् ।
बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । उद्धार कार्य जारी रहेकोले क्षतिको एकिन विवरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको स्थानीय चक्र बमले बताउनुभयो । घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ । स्थानीय शिक्षक प्रवेश प्रताप ऐतवालका अनुसार अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुल संगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको उहाँले बताउनुभयो ।
दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुंगे र मोटर पुल बगाएको छ । कटान अझै जारी छ । उद्वार कार्यमा सुरक्षा निकायका साथै स्थानीयहरु खटिएको घटनास्थलबाट ललित खत्रीले जानकारी दिनुभयो ।




विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया