दार्चुला । दार्चुलाको लेकम गाउँपालिका, गाउँकार्यपालिकाको आठौँ बैठक विभिन्न आठ वटा निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले खरिद ईकाई समिति र मुल्यांकन समिति गठनदेखि शिक्षा शाखामा कार्यालय सहयोगी र अध्यक्ष रामदत्त जोशीको कार्यकक्षमा कर्मचारी नियुक्त गर्ने लगायत निर्णय गरेको हो ।
गाउँपालिकाको सार्वजनिक खरिद कार्यविधिलाई पारदर्शी, बस्तुनिष्ठ एबं विश्वसनिय बनाउन सार्वजनिक खरिद ऐन २०६३ बमोजिम सार्वजनिक निकायमा खरिद कार्य गर्न अधिकृत छैटौँ शेखर चन्द्र ओझाको संयोजकत्वमा खरिद ईकाई समिति गठन गरिएको छ । यस्तै गाउँपालिकाको सार्वजनिक खरिद नियमावली अनुसार सार्वजनिक निकायका बोलपत्र मूल्यांकन एबं अन्य मूल्यांकन सम्बन्धि कार्य गर्न इन्जिनियर केशवबहादुर पालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
कार्यपालिका निर्णय अनुसार गर्न हुने रकमबाट प्रतेक वडामा एक लाखका दरले व्यवस्थापन खर्च, वडा नम्बर ३ मा क्रिकेट खेल सञ्चालनका लागि एक लाख र सर्मोलीका रुपेश बोहरालाई लेकम गाउँपालिकाका केश अद्ययन गर्न एक लाख खर्च विनियोजन गर्ने निर्णय गरिएको छ ।
लेकम गाउँपालिका शिक्षा शाखामा २०७९ असार १२ गतेबाट कार्यरत कार्यालय सहयोगी हरिप्रसाद ओझालाई गत साउन १ गतेदेखि दैनिक ज्यालादारी ६०० रुपियाँका दरले पारिश्रमिक दिने गरी कार्यालय सहयोगी नियुक्त गर्ने निर्णय गरिएको छ । यस्तै लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको कार्यकक्षमा कर्मचारी आवश्यक रहेकोले सहायक चौथो कम्प्युटर अपरेटर पदमा अम्बादत्त अवस्थीलाई कामकाज गर्न करारमा नियुक्ती दिने निर्णय गरिएको छ।
लेकम गाउँपालिका कार्यालय प्रयोजनका लागि सवारी साधन आवश्यक भएकोले मासिक रुपमा भाडामा लिनका लागि सबैभन्दा घटी दरमा उपलब्ध गराउने बुलेरो फोरडब्लु गाडी धनिबिच सम्झौता गर्न १५ दिने सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।
लेकमको वडा नम्बर ३ लाली स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेण्ट रमेश प्रसाद जोशीलाई लेकम गाउँपालिका रातामाटा कार्यालयमा खटाउने र खरकडा स्वास्थ्य चौकीमा कार्यरत अहेब विपिन प्रसाद जोशीलाई सर्मोली स्वास्थ्य चौकी गराडीमा कामकाजमा खटाउने निर्णय गरिएको छ ।
गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा सञ्चालित गाउँकार्यपालिका बैठकमा अधिकासं कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया