दार्चुला । दार्चुलाको दोस्रो ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा पहिलोपटक अत्याधुनिक सुविधा सहितको पोलिक्लिनिक सञ्चालनमा आएको छ । झण्डै डेढ करोड लगानीमा सञ्चालनमा आएको पोलिक्लिनिकको शैल्यशिखरका मेयर अमरसिंह धामीले शुक्रबार (आज) उद्घाटन गर्नुभयो ।
शैल्यशिखर पोलिक्लिनिकका सञ्चालक मनोज सिंह महराका अनुसार क्लिनिकमा अल्ट्रासाउण्ड, एक्सरे, इसिजि, मुटुको जाँच, मृगौला जाँच गरिनुका साथै थाइराइड लगायत अन्य रोगहरुको आधुनिक प्रविधि एबं अनुभवि चिकित्सकद्धारा उपचार गरिने छ । पोलिक्लिनिकमा चिकित्सक, स्टाफ नर्श, हेल्थ असिस्टेण्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मासिस्ट र अहेब गरी अहिले ८ जना स्वास्थ्यकर्मी कार्यरत रहेको सञ्चालक महराले बाउनुभयो ।
पोलिक्लिनिक उद्घाटन कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत लगायत जनप्रतिनिधि, व्यावसायी, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा सहभागिहरुले दार्चुला र बैतडीको सीमा क्षेत्रमा अवस्थित गोकुलेश्वर बजारमा पहिलोपटक आधुनिक प्रविधिसहित क्लिनिक सञ्चालनमा आएको भन्दै सञ्चालकलाई बधाई ज्ञापनसहित सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यहाँको स्वास्थ्य समस्या, उपचारमा समस्या लगायत कुरालाई मध्यनजर गर्दै विकट क्षेत्रबाट सेवा गर्ने उद्धेश्यले आफुले ठूलो लगानीमा पोलिक्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक महराले बताउनुभयो । उहाँले सहयोगीहरुलाई धन्यबाद समेत ज्ञापन गर्नुभएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया