दार्चुला । नेपालीहरुको महान चाडपर्व दशैं, तिहार मनाइरहदा आसन्न निर्वाचनका विषयमा समेत चियोचर्चो शुरु भएको छ । अहिलेसम्म विकासका लागि कसले के गरे ? कसलाई जिताउदा के हुन्छ ? को भन्दा को ठिक ? जस्ता प्रश्नहरुमा जनताले उत्तर खोजिरहेका छन् । मंसीर ४ गतेको निर्वाचनका लागि सम्भावित उम्मेदवार र नेताहरुसंगै कार्यक्रताहरुले जनतासंग भेटघाट गर्न थालेका छन् । दशैं र तिहारको अवसरमा शुभकामना आदानप्रदानसंगै आसन्न निर्वाचनका लागि जनतासंग भेटघाट कार्यक्रम भइरहेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो ।
नेकपा एमालेले मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को कमिटीद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अगामी निर्वाचनका विषयमा समेत छलफल गरेको छ । मालिकार्जुनको वडा नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एबं दार्चुला इन्चार्ज र आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतक्षतर्फका उम्मेदवार गणेशसिंह ठगुन्ना, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य मोहनसिंह धामी, प्रदेश कमिटी सदस्य गणेशसिंह धामी, जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी लगायतको आतिथ्यता रहेको थियो । मालिकार्जुनको वडा नम्बर १ भर्तोलामा विभिन्न पार्टी परित्याग गरि नौँ जना कार्यकर्ता एमालेमा प्रवेस गरेको बताइएको छ । प्रवेस गर्नेमा नेपाली कांग्रेशका दमन सिंह धामी, दमन सिंह चैसिर, मोहन सिंह चैसिर, नेकपा माओबादी केन्द्रका चन्द्र सिंह बोहरा, गोविन्दी टमाटा, पुजा लोहार, सुरेश नेपाली, मानमति दमाई र विर सिंह धामी रहेको एमाले युवा नेता दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो । उक्त कार्यक्रमको अवसरमा स्थानीयहरुसंग भेटघाट गरेर चाडपर्वको शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा सहभागि पत्रकार राजेन्द्र धामीले बताउनुभयो ।
एमाले नेता ठगुन्ना नेतृत्वको टोलीले आसन्न निर्वाचनको पुर्वसन्ध्यामा जनतासंगको भेटघाटलाई बढाएको छ । महाकाली, शैल्यशिखर र मालिकार्जुनका विभिन्न स्थानमा निर्वाचनलक्षित कार्यक्रम आयोजना भइरहेको र केही समयभित्रै जिल्लाभरी घुमेर जनता, कार्यकर्तासंग भेटघाट गर्ने योजना रहेको एमाले जिल्ला कमिटी अध्यक्ष धामीले बताउनुभयो । निर्वाचन नजिकिएसंगै सम्भावित सबै उम्मेदवारले निर्वाचन जित्ने रणनीति बनाइरहेका छन् । कसरी निर्वाचनमा जित हासिल गर्न सकिन्छ भन्ने विषयमा विश्वासपात्र र कार्यकर्ताहरुसंग छलफल भइरहेको छ । निर्वाचनमा विजयी गराउन जनतासंग भेटघाट र अपिल समेत सुरु भएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया