क्षमायाचनाः चमेलियामा बेपत्ता बोहराको शव भेट्टिएन, स्थानीय र प्रहरीद्धारा खोजिकार्य जारी

दार्चुला । दार्चुलामा राँगाको बलि गरिरहेका एक पुरुष अष्टमीका दिन सोमबार चमेलिया नदीमा बगेर बेपत्ता भएपछि खोजिकार्य जारी रहेको छ । शैल्यशिखर नगरपालिकाको देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि गर्ने क्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर १ का बहादुरसिंह बोहरा चमेलिया नदिमा बगेर बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । गलत सूचनाका आधारमा समाचार प्रशारण, प्रकाशन हुँदा बेपत्ता बोहराको एउटा खुट्टा भेटिएर अन्तेष्टि गरिएको खबर फैलिएको छ । रेडियो लोकदर्पणबाट मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय दार्चुलालाई सम्पर्क गर्दा वेपत्ताको खुट्टा भेटिएर अन्तेष्टि गरिएको खबर प्राप्त भएको र सोहि आधारमा समाचार प्रकाशित भएको लोकदर्पणको समाचार शाखाले जनाएको छ ।

बेपत्ता बोहराको परिवारको तर्फबाट अन्तेष्टि गर्न बाँकी रहेको र अझै शव नभेटिएको सूचना आएपछि थप बुझ्दा प्रहरीले झुक्किएर महाकालीमा बेपत्ता सागरराम लुहारको खुट्टा भेटिएर अन्तेष्टि गरिएको जानकारी दिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक राजेश शाहीका अनुसार केही दिन पहिले महाकाली नदी क्षेत्र जोलजिविमा वेपत्ता लुहारको एउटा खुट्टा भेटिएको थियो । पत्रकारले बलाँचको घटनाबारे बुझ्न खोज्दा जोलजिविको घटनाबारे सूचना प्राप्त भएका कारण समाचारमा त्रुटि भएको हो । समाचारका कारण बेपत्ता बोहराको पारिवारिक संवेदनामा चोट पुग्न गएको कारण क्षमायाचना व्यक्त गर्दै समाचार स्पष्ट पार्ने प्रयास गरेका छौँ । लोकदर्पणको वेभसाइटबाट कपि (चोरी) गरेर वा अन्य सूचनाको आधारमा चमेलियामा बेपत्ता बोहराको अन्तेष्टि भनेर समाचार सम्प्रेषण गरेका अन्य मिडियाहरुलाई समेत समाचार सच्याउन अनुरोध गर्दछौँ । चमेलियामा बेपत्ता बोहराको आफन्तजन, स्थानीय र प्रहरीले खोजि कार्य गरिरहेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का नेपाली कांग्रेश वडा सभापति प्रकाश भट्टले जानकारी दिनुभयो ।

सोमबार बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो । त्यसपछि उहाँ त्यहीँ राँगोलाई समातेर बलि दिनका लागि भनेर चमेलिया नदीमा पसेको बताइएको छ । नदीमा पसेका उहाँलाई नदीले बगाएर बेपत्ता हुनुभएको थियो र बोहरा बेपत्ता भएपछि स्थानीयसंगै नेपाल प्रहरी खोजि कार्य गरिरहेको छ । हामी खोजि गर्दै मंगलबार चमेलिया किनारको चम्तडी, धनथलासम्म पुग्यौँ तर कतै भेट्टिएन, वेपत्ता बोहराका भतिजा रमेश बोहराले भन्नुभयो, खोजिकार्य बुधबारपनि जारी रहेको छ । एक दुई दिन अझै खोजि कार्य गरिने र त्यसपछि मात्रै बाँकी विषयमा निर्णय लिने उहाँले बताउनुभयो । बलाँच प्रहरी चौकी र इप्रका गोकुलेश्वरको टोलीले समेत खोजि कार्यमा सहयोग गरिरहेको छ । नदीमा पानीको सतह समेत बढी भएकोले बोहरा जीवित भेटिनेमा आशंका गरिएको छ । यद्धपी शव भेटिने आशामा खोजि कार्य भैरहेको पारिवारिक स्रोतले जनाएको छ । खोजि कार्यमा गौरीलाल बोहरा, गंगा बोहरा, इन्द्रसिंह बोहरा, भगिरथ बोहरा, गम्भीर बोहरा, मोहनदेब खडायत, गणेश बोहरा लगायत स्थानीय आफन्तको टोली लागिपरेको छ ।

यसैबिच दार्चुलाको महाकाली नगरपालिकामा भदौ २४ गते रातीको बाढीले बेपत्ता भएका एक जना पुरुषको शव भेटिएको छ । १० जना बेपत्ता मध्ये महाकाली नगरपालिका वडा नम्बर ४ का विजय लुहारको दुई साता पहिले शव फेला परेको थियो । यस्तै गत साता २७ वर्षीय सागर राम लुहारको जोलजिवि क्षेत्रमा एउटा खुट्टा फेला परेको थियो । फेला परेको खुट्टा आफन्तको जिम्मा लगाएर अन्तेष्टि गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । अझै महाकालीमा आठ जना बेपत्ता रहेको र उनिहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

लास्कु बाढीले ज्यान गुमाएका दुई जनाको शव घटना भएकै दोस्रो दिन फेला परेको थियो । अहिलेसम्म महाकालीमा चार जनाको शव भेटिएको छ । बेपत्ता आठ जनाको समेत जीवित भेटिने सम्भावना नरहेको प्रहरीले जनाएको छ । गत भदौ २४ गतेको बाढीका कारण महाकाली र नौगाड गाउँपालिकाका गरी दार्चुलामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । भने अझै आठ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?