दार्चुला । आसन्न निर्वाचनका लागि प्रतिनिधिसभामा उम्मेदवारी मनोनयन गर्नुपुर्व एमाले पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले दार्चुलाबासीको नाममा एक अपिलसहितको विज्ञप्ती जारी गर्नुभएको छ । दुई कार्यकाल दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेता ठगुन्नाले जिल्लाको विकासमा आफुले पुर्याएको योगदान बुदागतरुपमा सार्वजनिक गर्दै अधुरा योजना र सपनाहरु पुरा गर्नका लागि अगामी निर्वाचनमा फेरी विजयी बनाउन अपिल गर्नुभएको छ ।
विभिन्न उतारचढाबका बिच समेत दार्चुलाको विकासका लागि आफुले महत्तपूर्ण योगदान पुर्याएको उहाँको दाबी छ । खासगरी आफुले दार्चुलाको करिब ४०० बर्गकिलोमिटर अतिक्रमित भूमि नेपाली नक्सामा सामेल गराउन महत्तपूर्ण भूमिका निर्वाह गरेको, दार्चुला तिकंर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन भूमिका निर्वाह गरेको, व्यासको छाङ्गरुमा सशस्त्रको बाह्रै महिना रहने गरि सीमा सुरक्षा पोष्ट (बीओपी) हुँदै गुल्म स्थापना गरिएको, महाकाली कोरीडोरको खलंगा–सुनशेरा खण्ड र बेत–उकु खण्ड कालोपत्रे गर्न बहुबर्षिय ठेक्काको प्रक्रिया सुरु गरेर ३ अर्ब ९७ करोडको ठेक्का भएको, महाकाली कोरीडोरको धनथला–उकु खण्डको बाँकी ट्र्याक खुलाउने काम भइरहेको, जिल्लाकै दोस्रो महत्वपूर्ण सडक खलंगा–खार–देथला–बिटुले–पारिबगर–खण्डेश्वरी सडक निर्माण र कालोपत्रेका लागि बजेट विनियोजन गराएको, केन्द्रिय विशेष र समपुरक अनुदान अन्तरगत विभिन्न क्षेत्रमा सडक र खानेपानी योजनामा बजेट विनियोजन गरिएको, गोकुलेश्वर विमानस्थल पुनः निर्माणका लागि झण्डै ५० करोडको बहुबर्षिय ठेक्का गराइ काम अघि बढेको उहाँको भनाई छ । यस्तै खानेपानीको क्षेत्रमा ९० योजना र २०० भन्दा बढी स्किमहरु सुरु गरि कतिपय सम्पन्न भइसकेको, चमेलीया लिफ्टीङ खानेपानी निर्माणाधिन अवस्थामा रहेको, जिल्ला अस्पताल दार्चुलामा ५० शैय्याको भवन र सबै पालिकामा १० देखि १५ शैय्याका अस्पताल भवन निर्माण भईरहेको, टेलिफोनको सुविधा ग्रामीण भेगसम्म पुर्याउन सञ्चार क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको, प्रतेक स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउनेदेखि शैक्षिक क्षेत्रमा विभिन्न कामहरु गरिएको, तुईन उन्मुलन कार्यक्रम अन्तरगत महाकालीको विभिन्न ठाउँमा पुलहरु निर्माण गरिएको, उच्च पहाडी तथा हिमाली जिल्लाको समृद्धि कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम सञ्चालनमा रहेको, पर्यटन क्षेत्रमा महत्वपूर्ण योजनाहरु सञ्चालन गरिएको, मार्मा र नौगाडमा औद्योगिक ग्रामको कार्यक्रम शुरुवात गरिएको, महाकाली नदी नियन्त्रण आयोजना अन्तर्गत नौगाड खोला र गोकुलेश्वर बजार क्षेत्रमा पक्की तटबन्ध निर्माण को डिपिआर तयार गरिएको, खेल क्षेत्रमा समेत पुर्वाधारहरु निर्माणमा बजेट विनियोजन गरिएको उहाँको भनाई छ ।
वर्तमान सरकार आएपछि आफुले सुरु गरेको कतिपय महत्तपूर्ण योजनाहरुमा बजेट कटौती गरिएकोले आगामी दिनमा नेकपा (एमाले) को सरकारले अधुरा र बाँकी योजनालाई पनि अगाडी बढाउने नेता ठगुन्नाको प्रतिवद्धता छ ।
हेर्नुहोस नेता ठगुन्नाले जारी गर्नुभएको वक्तव्य
नमस्कार
आदरणिय दार्चुलाबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु ।
आसन्न मंसिर ४ गतेको आमनिर्वाचनको संघारमा पुनः म तपाईहरुमाझ आएको छु । यहाँहरुको माया र सदभावले ०७० सालको संविधान सभा निर्वाचन र ०७४ सालको प्रतिनिधि सभा निर्वाचन गरि ९ बर्ष जिल्लाको प्रतिनिधिको हैसियतले काम गर्ने अवसर प्राप्त भयो यसको लागि म सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
यो नौँ बर्षको अवधि विविध प्रकारले उतारचढावका बर्ष रहे । ०७२ सालमा भूकम्पले देशको अर्थतन्त्रलाई धरासायी बनायो र पूनर्निर्माणमै देशको महत्वपूर्ण बजेट बिनियोजन भयो । यस बिचमा हामीले भारतीय नाकाबन्दीको सामना गर्नु पर्यो जसले विकास निर्माणका योजनाहरुमा प्रतिकूल प्रभाव पर्यो । कोरोना भाइरसको कारण २ बर्ष आम जनजिवन अस्तव्यस्त भयो । जीवनकै लागि संघर्ष गर्नु पर्ने अवस्थामा समग्र राजकीय कामहरुमा प्रभाव पार्नु स्वाभाविक थियो तथापि तपाईहरुको अमूल्य मतद्वारा निर्वाचित भएर यसबिचमा मैले जिल्लाको विकास र समृद्धिको लागि शुरुवात गरेका केहि महत्वपूर्ण कार्यहरु निम्नअनुसार रहेका छन्ः
१) कुनै पनि देशको लागि आफ्नो देशको माटोको रक्षा गर्नु मूलदायित्व अन्तरगत पर्दछ । हाम्रो जिल्लाको लगभग ४०० वर्ग कि.मी. भूमि अतिक्रमणमा परेको छ । जुन नेपालकै भक्तपुर जिल्ला भन्दा बढी (ठूलो) हो । स्वर्गिय बहादुर सिंह ऐतवाल, स्वर्गीय क. प्रेमसिंह धामी र स्वर्गीय क. बीर बहादुर ठगुन्ना ले उठान गरेको यो मुद्दालाई मैले अगाडी बढाएको छु । मैले नै लिखित रुपमा तत्कालिन भूमि व्यवस्था मन्त्री पदमा अर्याल लाई नेपालको नक्सामा हाम्रो भूमि समावेश नभएको कुरा राखेपछि प्रक्रिया अगाडी बढ्दै आज विश्वको मानचित्रमा शो भूमि हाम्रो नक्सामा सामेल भएको छ । माटोको रक्षा गर्ने काम आधा पूरा भएपनि त्यसमा हाम्रो प्रशासनिक नियन्त्रण हुन बाँकि छ, आगामी कार्यभारमामा हामीले त्यो कुरालाई अगाडी बढाउने छौं । व्यक्तिगत र राजनितिक स्वार्थ थपिएकाले मातृभूमी र यो माटोको सौदाबाजी गर्दै विदेशीका अगाडी लम्पसार पर्ने प्रवृतिको म सदा विरोधी रहेको छु । मातृभूमी र माटोको रक्षाको लागि राजनिति त के जीवन कै त्याग गर्न पनि तयार रहेको सम्पूर्ण जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।
२) मातृभूमीको रक्षाको लागि तिंकरमा सडक सञ्जाल छिटो पुर्याउन नेपाली सेनालाई सडक निर्माणको जिम्मा मेरै पहलमा दिईएको छ । आज सीमामा नेपाली सेनाका क्याम्पहरु निर्माण भएका छन् र निर्माण कार्य अगाडी बढिरहेको छ । हामी आशावादी छौं आगामी ५ बर्षमा नेपाल कै बाटो भएर हामी कैलाश मानसरोवर दर्शन गर्न पाउने छौं ।
३) छाङ्गरुमा सशस्त्रको बाह्रै महिना रहने गरि बिओपि हुँदै गुल्म स्थापना गरिएको छ ।
४) महाकाली कोरीडोरको खलंगा–सुनशेरा खण्ड र बेत–उकु खण्ड कालोपत्रे गर्न बहुबर्षिय ठेक्का को प्रक्रिया म मन्त्रि भएको बेला शुरु भएर झण्डै ३ अर्ब ९७ करोडको ठेक्का पट्टा भईसकेको छ । अब निर्माण कार्यले गति लिने छ । यो सडकमा १ अर्ब ३ करोड बजेट बिनियोजन गरेकोमा वर्तमान सरकारले यो आर्थिक वर्षमा त्यसको आधा बजेट कटौति गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।
५) म मन्त्रि हुँदा आ.व. ०७८/७९ मा महाकाली कोरीडोरको धनथला–उकु खण्ड को बाँकी रहेको झण्डै ३५ कि.मि. ट्र्याक ओपनको बहुबर्षिय ठेक्का स्विकृत भईसकेको छ । वन मन्त्रालयको समेत सहमति लिई ठेक्का व्यवस्थापन भईसकेको र निर्माण कार्य सुरु हुदैछ ।
६) जिल्लाकै दोस्रो महत्वपूर्ण सडक खलंगा–खार–देथला–बिटुले–पारिबगर–खण्डेश्वरी सडक मा मैले ०७४ साल अगाडी नै देथला–खलंगा खण्डमा कालोपत्रे को लागि ३५ करोड र पारिबगर–खण्डेश्वरी सडकमा १५ करोड बजेट बिनियोजन गरि काम सुरुवात गरेको छु । ०७४ साल पछि सो सडक लाई प्रदेशमा हस्तान्तरण गरिएपछि नेकपाको सरकार हुदा तत्कालिन नेकपाका सांसदहरु मा. मानबहादुर धामी, मा. गेल्बु सिंह बोहरा र मा. निर्मला बडाल जोशी समेतको सल्लाहमा प्रदेश गौरवको योजनामा समावेश गरिएको हो । र त्यस अन्तर्गत कैयन खण्डमा कालोपत्रेको काम भईरहेको छ । यसबिचमा नेकपा (एमाले) को सरकारले यो सडक लाई रणनितिक सडक अन्तर्गत रु. ६० करोड थप बजेट बिनियोजन गराएको र सो बजेटबाट बिटुले–पारिबगड खण्डको १० कि.मी. र दल्लेख–खार खण्डको १० कि.मी. सडक सुधार तथा कालोपत्रेको ठेक्का–पट्टा भई बिटुले खण्डमा काम शुरुवात भएको समेत जानकारी गराउदछु ।
– केन्द्रिय समपुरक अनुदान अन्तरगत गोकुलेश्वर–बोहरीगाँउ–बन्तोली सडक र तपोवन–मुरै–सिप्टी सडकमा १ अर्ब १० करोड बिनियोजन गरि निर्माण तथा कालोपत्रे कार्य सञ्चालन भईरहेको छ । समपुरक अनुदान अन्तर्गत गोकुलेश्वर–लाली सडक, होपरी–सिप्टी सडक, जामीर–ईयरकोट–सामपाङ्ग सडक, ऐरिछाना–डाडाकोट सडक, लटिनाथ–सार्सि–बजानी सडक, पारिबगड–गुल्जर–परमचुली सडक, देथला–रानिशिखर–आगर सडक लगायत थुप्रै सडकहरु सञ्चालन गरिएको छ । संघबाट स्वीकृत दल्लेख–सुण्डमुण्डु–नागु सडक, मालिकार्जुन–भगवती–थाप्ला–दत्तु सडक, बेत–उकु–लाली सडक, ऐरिछाना–रिठाचौपाता–धनथला सडक हाल प्रदेशमा हस्तान्तरण भई प्रदेशबाट सञ्चालन भईरहेका छन् । बिटुले –पारिबगड–खण्डेश्वरी सडकको मकरीगाड सम्म ट्याक खुलेको छ । मकरीगाडबाट खण्डेश्वरी ट्याक ओपनको लागि आ.व. २०७८/७९ मा ३ करोड केन्द्रबाट बिनियोजन भएको थियो वर्तमान सरकारले यो आ.व. मा शो बजेट आधा भन्दा बढि कटौती गरेको ब्योहरा समेत अनुरोध गर्दछु ।
७) २०७० साल सम्म गोकुलेश्वर एयरपोर्ट गौचरनमा परिणत भएको थियो म ५ महिना मात्र मन्त्रि हुदा झण्डै ५० करोडको बहुबर्षिय कार्यहरु सुरु भई हाल एयरपोर्ट निर्माण कार्य शुरु भएको छ । आगामी दुई बर्षमा दार्चुलाबासीहरुले शो एयरपोर्ट उपयोग गर्न पाउने छन्।
८) खानेपानीको क्षेत्रमा उल्लेखनीय प्रगती भएको छ । झण्डै ९० योजना र २०० भन्दा बढी स्किमहरु हाल प्रदेश हस्तान्तरण भई काम भईरहेको छ । खानेपानी मुल नभएका विकट बस्तिहरुमा लिफ्टिङ÷पम्पिङ खानेपानी मार्फत खानेपानी पुर्याईएको छ । न्वालपानी – काणापारी, बन्तोली लगायतका बस्तिहरु खानेपानी पुर्याईएको छ । सुदूरपश्चिम कै ठुलो चमेलीया लिफ्टीङ खानेपानी झण्डै १४०० घरधुरीमा खानेपानी पुर्याउने कार्यहरु निर्माणाधिन छ । संघीय खानेपानी अन्तर्गत थप दुई दर्जन बृहत खानेपानी सञ्चालनमा छन् । सदरमुकाम खलंगा मा साना सहरी खानेपानी सञ्चालन गरिएको छ । खानेपानीको क्षेत्रमा १ घर १ धारा कार्यहरु सञ्चालन गरिएको छ ।
९) जिल्ला अस्पताल दार्चुलामा ५० शैय्याको भवन निर्माण भईरहेको छ । सम्पूर्ण पालिकाहरुमा ५, १०, १५ शैय्याको अस्पताल निर्माण भईरहेका छन् ।
१०) टेलिफोनको सुविधा ग्रामीण भेगसम्म पुर्याउन सञ्चार क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको छ । दुर्गम भेष सित्तोला, पाथा, धुलिगाडा, तपोवन, दल्लेख, छाङ्गरु, लगायतका स्थानमा टेलिफोन टावर निर्माण गरिएको छ । लेकम र दुँहु भेगमा विभिन्न टावरहरुको स्तरोन्नती गरिएको छ ।
११) दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पस आंगिक बनाईएको छ । विशेष अनुदान र राष्ट्रपति शैक्षिक सुधार अन्तरगत सयौँ विद्यालय भवनहरु निर्माण भएका छन् । दार्चुलाका सम्पुर्ण पालिकाहरुमा प्राविधिक शिक्षाको पढाई शुरू भएको छ । आइसीटी कार्यक्रम अन्तरगत दर्जनौं विद्यालय लाभान्वित भएका छन् ।
१२) ०४८ साल देखि नेपाली काँग्रेस ले चुनावी नारा बनाएका महाकाली नदी का झो.पु. निर्माण नेकपा (एमाले) को तुईन उन्मुलन कार्यक्रम अन्तर्गत पुरा भएको छ । लाली, बाँकु, बडुगाँउ, तिग्रम, मलघट्टे लगायत स्थानमा झो.पु. निर्माण सम्पन्न भएका छन् ।
१३) म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुदा उच्च पहाडी तथा हिमाली जिल्लाको समृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । जसले बार्षिक रुपमा प्रत्येक पालिकामा करोडौं बजेट थप भएको छ ।
१४) जिल्लामा दर्जनौं थप झो.पु. हरु स्विकृत भई निर्माणाधिन रहेका छन् । चमेलिया को धनथलामा, नौगाडको होपरीगाडमा, मार्माको चौकिबगरमा पक्कि पुल स्विकृत भई ठेक्का पट्टा व्यवस्थापन भईसकेको छ ।
१५) मालिकार्जुन धामलाई १०० पर्यटकीय गन्तव्य मा समावेश गरिएको छ । अपि पदमार्ग, गुल्जर सांस्कृतिक पर्यटकीय कार्यक्रम, नौगाडको छिपुलथान डाईभर्सिटी पार्क लगायत पर्यटन क्षेत्रमा महत्वपूर्ण योजनाहरु सञ्चालन गरिएका छन् ।
१६) सदरमुकाममा कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरिएको थियो, जग्गा उपलब्ध नहुँदा शो कार्यान्वयन हुन सकेन, मार्माको लटिनाथ र अपि हिमालमा पालिकाको साझेदारीमा खेलमैदान कार्यक्रम सञ्चालन भएका छन् ।
१७) मार्मा र नौगाडमा औद्योगिक ग्रामको कार्यक्रम शुरुवात गरिएको छ ।
१८) महाकाली नदी नियन्त्रण आयोजना अन्तर्गत नौगाड खोला र गोकुलेश्वर बजार क्षेत्रमा पक्की तटबन्ध निर्माण को डिपिआर तयार गरिएको छ ।
वर्तमान सरकार आएपछि आफुले अगाडी बढाएका दर्जनौँ योजनामा बजेट बिनियोजन नगरेकोले आगामी दिनमा नेकपा (एमाले) को सरकारले अधुरा योजनाहरु पुरा गर्न र बाँकी योजना लाई पनि अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।
विगतमा विकास निर्माणबाट वञ्चित जिल्लामा महत्वपूर्ण आयोजनाहरुको सुरुवात भएको छ । बर्षौदेखि विकासको नाममा सिन्को नभाच्ने, राजनितिलाई व्यक्तिगत स्वार्थपुर्तिको माध्यम बनाउने शक्तिहरुको कारण दार्चुला जिल्ला पछाडी परेको छ र हो । आज हामी विकासमा अगाडी बढीरहेका छौं । हामीले शुरु गरेका योजनाहरु हामी नै सम्पन्न गर्ने छौं । “समृद्ध दार्चुला निर्माण हाम्रो अभियान“ हो । विकासको प्रतिस्पर्धा मा मलाई उछिनेर अरु नेता हरु अगाडी बढेमा जनताले उनिहरुलाई समर्थन गरेमा मेरो पनि समर्थन रहने छ । तर बिसौं बर्ष सम्म विकासको नाममा सिन्को नभाँच्ने, राजनीतिलाई व्यक्तिगत स्वार्थपुर्तिको हतियार बनाउने व्यक्ति र पार्टीहरुलाई तिरस्कार गर्न समेत म सम्पुर्ण दाजुभाई दिदिबहिनीहरुमा हार्दिक अपिल गर्दछु । नेकपा (एमाले) को समृद्ध नेपाल र सुखी नेपाली अभियान अन्तर्गत सम्पूर्ण जनताहरुको समृद्धि र खुसीपार्न को लागि नेकपा (एमाले) को सरकार अपरिहार्य छ । वृद्ध आमाबुबाहरुका लागि एमाले सरकार आवश्यक छ । एकल महिलाहरुको उत्थानको लागि, अपाङ्ग हरुको जीवन निर्वाहको लागि, दलित, बेरोजगार, गरिब किसानहरुको हकहित को लागि नेकपा (एमाले) को जित जरुरी छ । यसर्थ दार्चुला जिल्लामा नेकपा (एमाले) को तर्फबाट म गणेश सिंह ठगुन्ना लाई प्रतिनिधि सभा सदस्यमा तथा प्रदेशसभा (क) मा क. हरदेव जोशी र प्रदेशसभा (ख) मा क. रामदत्त जोशी लाई अत्यधिक मतले विजयी गराउन हुन हार्दिक अपिल गर्दछु । अभिवादनसहित हार्दिक धन्यबाद ।
गणेशसिंह ठगुन्ना
प्रतिनिधिसभा सदस्य उम्मेदवार
नेकपा (एमाले) दार्चुला
मितिः २०७९।०६।२२ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया