दार्चुला । तिहारको मुख्य दिन आज भाइटीका मनाईँदैछ । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । भाइटीकाको मुख्य साइत ११ बजेर ३७ मिनेटमा भएपनि आज दिनैभरी टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साइतमा लगाउनेहरु यतिबेला टीका लगाउन व्यस्त छन् । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
तिहारको मुख्य दिन भाइटीकाको अवसरमा विहिबार (आज) लटिनाथ मन्दिर बन्तोली, तलाईमाडौं मार्मा लगायत विभिन्न स्थानमा आज जात्रा लाग्दैछ । लेकम गाउँपालिकाको मैखोली खर्कस्थित लटिनाथ मन्दिरमा भने यो वर्ष गाउँमा जुठो परेकोले जात्रा छैन् । विगतदेखि राती जात्रा मनाइदै आएकोमा रात्री जात्राका कारण असुरक्षा बढेको र विभिन्न गैरकानुनी तथा असामाजिक गतिविधि हुनसक्ने भन्दै लटिनाथ मन्दिर मैखोली खर्कमा गत वर्ष दिउँसो जात्रा लगाइएको थियो । पुजाआजा र विभिन्न धार्मीक गतिविधिका साथै दमाहा लगायत बाजाहरु बजाएर, डेउडा खेल खेलेर जात्रा मनाइन्छ । लटिनाथ मन्दिर बन्तोली लगायत स्थानमा आज राती जात्रा लाग्ने बताइएको छ । जात्रालाई व्यवस्थित गर्न मदिरा र जुवातासलाई प्रतिबन्द गरिएको वडा कार्यालयले जनाएको छ ।
“आगा हुल तोई दिउलो पाछा हुल मेरी दुत्या हुल तोई दिउलो चतुर्दशी मेरी” उल्लेखित उद्दरणहरु प्राचीन डोटी र कुमाउँ क्षेत्रका लोक प्रशिद्ध देवता लटिनाथको गाथा (झोडो) का हुन् । ठाउँ अनुसार लटिनाथलाई लटबाब, लट्या, लाटो आदि नामले पुकारिन्छ। लटिनाथलाई एक महान योद्धा र न्यायका देवताको रुपमा लिने गरिन्छ। पिता मलैनाथले हुणदेशका राजा छिपलाकि रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले आफ्नो सैन्यबलका साथ मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा सो आक्रमणको प्रतिउत्तर दिन आफूसङ्ग कोही वीर योद्धा नभएको र जेठो छोरा लटिनाथलाई नदीमा बगाएकोमा पश्चाताप गरिरहेको समयमा मार्मा थलीबाट लटिनाथको प्रस्थान युद्धस्थलमा हन्छ।
शिखरधुरामा मलैनाथ र भागाश्री लुकेको स्थान पत्ता लगाउन छिपला पक्षले दह बाँधी सो दहबाट प्रकाश परावर्तन गराउन लाग्दा लटिनाथले १२ मन फलामको गोला प्रहार गरि उक्त दह भत्काईदिएको किम्बदन्ती पाईन्छ । साथै छिपला पक्षको आक्रमणबाट परेका पहिरोहरुलाई पिठ्यु थापेर माथितिर फर्काईदिएको कुरा पनि लटिनाथको गाथा (झोडो) मा सुन्न पाईन्छ । मलैनाथ पक्षको सेनापतिको भुमिकामा रहेका लटिनाथले युद्धमा छिपला पक्षलाई पराजित गरिसकेपछी मलैनाथ र लटिनाथको चिनजान भएको प्रसङ्ग आउँछ। कुराकानीका क्रममा आफुले अरु रानीहरु र ज्योतिषको कुरा सुनेर पिता लाई पिर्ने ग्रह परेको भनेर नदीमा बगाएको शोभाश्री पुत्र उनै लटिनाथ भएको प्रस्ट हुन्छ ।
एकातर्फ छिपलामाथीको विजय र अर्कोतर्फ बर्षौ पहिले शिशु अवस्थामा नदीमा बगाईएको पुत्र जवान भएर फर्कएको देख्दा मलैनाथ लाई औधी खुसी लाग्छ। खुसीकै माहोलमा मलैनाथले आफ्नो भन्दा पहिले पुजाआजा हुने र जात्रा लाग्ने घोषणा गर्नुहुन्छ । सोही अनुरुप कार्तिक शुक्ल द्वितियामा लटिनाथको र कार्तिक शुक्ल चतुर्दशीमा मलैनाथको जात्रा लाग्ने गर्दछ ।
लटिनाथको मुल बासस्थान दार्चुला जिल्लाको मार्मा क्षेत्रमा पर्ने तलाईमाडौं हो । लटिनाथले आफ्नो जीवनकालमा केही समय बसोबास गरेका अन्य सबै क्षेत्रहरुमा लटिनाथको मन्दीर रहेको छ । त्यसमध्ये शैल्यशिखर–८ दार्चुलामा पर्ने बन्तोली पनि एक हो । मुलथान तलाईमाडौं पछि बन्तोली, मैखोली खर्क, विजयपुर र चौडलाई विशेष महत्त्व दिने गरिन्छ । बन्तोली, मैखोली लगायत लटिनाथका मन्दिरहरुमा प्रत्येक बर्ष कार्तिक शुक्ल द्वितियाका दिन पुजा आराधना एवम् रात्रीकालिन भव्य जात्रा लाग्ने गर्दछ।
दशैंदेखि नै दार्चुलाको लेकम क्षेत्रमा जात्राको रौनकता छाएको छ । पुर्णिमासम्म विभिन्न देबताका मन्दिरमा जात्रा लाग्ने गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया