दार्चुलामा बढ्दै दुर्घटनाः चार वर्षमा २१ सवारी दुर्घटनामा ४२ जनाको मृत्यु, दर्जनौँ घाइते

दार्चुला । दार्चुलाको महाकाली राजमार्गका साथै ग्रामीण कच्चि सडकहरुमा समेत सवारी दुर्घटना बढ्दै गएको छ । ब्यास गाउँपालिका-५ धौलाकोटमा गत मंगलबार ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय देवानसिंह बिष्टको घटनास्थलमै मृत्यु भयो । दुई दिन पहिले शनिबार मात्रै महाकाली नगरपालिका–५ किम्तडीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाईते भएका छन् । से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक महाकाली नगरपालिका–५ का हिमांशु शाही र पछाडी सवार सोही नगरपालिका–४ का बिरेन्द्र टमटा घाइते भएका हुन् । टमटाको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको प्रहरीले जनाएको छ ।

यो वर्ष मात्रै दुई वटा सवारी दुर्घटनामा दार्चुलामा नौँ जनाले ज्यान गुमाएका छन् । केही दिन पहिले शैल्यशिखर नगरपालिका–६ मा सुपप्र ०२ ००१ त १४६७ ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । यसैबर्ष महाकाली राजमार्ग अन्तरगत ग्वानी क्षेत्रमा भएको दुर्घटनामा सात जना, अपिहिमालको मकरीगाड नजिक भएको दुर्घटनामा एक जना र व्यास गाउँपालिकामा भएको दुर्घटनामा एक जना गरी नौँ जनाले ज्यान गुमाइसकेका छन् । दार्चुलामा हरेक वर्ष सवारी दुर्घटनाका कारण अकालमै मानिसहरुले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ । दर्जनौँ मानिस घाइते हुने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा चार वटा सवारी दुर्घटनामा १५ जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा तीन वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा छ वटा सवारी दुर्घटना हुँदा नौँ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । गत आर्थिक वर्ष २०७८/०७९ मा चार वटा सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्ष २०७९/०८० मा हालसम्म चार वटा सवारी दुर्घटना हुँदा नौँ जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् ।

समग्रमा पछिल्लो चार वर्षको अवधिमा २१ वटा सवारी दुर्घटनामा ४२ जनाको ज्यान गएको छ । दुर्घटना ग्रामीण कच्चि सडकका साथै कालोपत्रे सडकमा समेत भएको पाइन्छ ।

ट्राफिक प्रहरीले जरिवाना असुल्ने कार्यलाई प्राथमिकता दिने गरेका छन् । तर नियम पालनमा कडाइ भने गरेको पाइँदैन । यातायात व्यवसायी, चालक र यात्रुले समेत ट्राफिक नियमहरूको पालन नगर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । ट्राफिक नियमविपरीत तीव्र गति, जथाभावी ओभरटेक, चालक निदाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थको सेवन लगायत कारणले सडक दुर्घटना हुने गरेको पाइएको छ । सवारीसाधनमा हुने यान्त्रिक गडबडी पनि दुर्घटनाको अर्को कारण हो । क्षमताभन्दा बढी भार, मौसम, सडकको अवस्था, छाडा पशुचौपाया, पुराना सवारीसाधनहरू, ब्रेक फेललगायतका कारणले पनि दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ ।

सडक दुर्घटना न्यूनिकरणका लागि सबैले सजक हुनु आवश्यक रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?