दार्चुला । प्रधानमन्त्री एबं नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सीमा समस्या समाधान गर्नका लागि भारतसंग कुरा गर्नुपर्ने बताउनुभएको छ । बुधबार दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले दुई तिहाई बहुमतले पारित गरेको बताउनुभयो । कात्तिक १८ गते दार्चुला पुगेर एमाले अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति सम्बोधन गर्नुहुँदै उहाँले भाषण गरेर हैन, भारतसंग कुरा गरेर सीमा फिर्ता हुने तर्क गर्नुभयो । अतिक्रमित भूमि फिर्ता लिनका लागि भारतसँग कुरा गर्नुपर्छ, उहाँले भन्नुभयो, ओलीजीले यहाँ (दार्चुला) आएर बोलेर हुँदैन । भारतसँग कुरा गर्नसक्नुपर्छ ।
गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म निरन्तर जाने प्रधानमन्त्री देउवाले बताउनुभयो । गठबन्धन राष्ट्रिय आवश्यकता भएको उहाँको भनाई छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको दार्चुलामा गठबन्धनका तीनै जना उम्मेदवारलाई जिताएर पठाए तीनै जनालाई मन्त्री बनाउने देउवाले प्रतिवद्धता जनाउनुभयो । दार्चुला सम्भावनाको खानी भएको बताउदै उहाँले यहाँको विकासका लागि गठबन्धन प्रतिवद्धरहेको धारणा राख्नुभयो । महाकाली करिडोरलाई सरकारले प्राथमिकता दिने उहाँले बताउनुभयो ।
ओली कायर हुन्, भ्रममा नपर्नुहोसः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने कायर भएको टिप्पणी गर्नुभएको छ । दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले ओलीले चुच्चे नक्सा ल्याउन नचाहेको बताउनुभयो । केपी ओलीले मात्रै होइन नक्सा बनाएको, उहाँले भन्नुभयो, म पनि त्यही पार्टीको अध्यक्ष थिए । कोही भ्रममा नपर्नुहोला म समेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो । अतिक्रमित भूमि कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनुपर्ने प्रचण्डको भनाई छ ।
प्रचण्डले भारतसंग सीमा फिर्ताका लागि बोल्न हिम्मत नगर्ने ओली कायर भएको टिप्पणी गर्नुभयो । झण्डै चार घण्टा खलंगामा बिताएका गठबन्धनका शिर्ष नेता देउवा र प्रचण्ड लगायत सबै वक्ताहरुले अधिकासं समय एमाले अध्यक्ष ओलीको आचोलना गर्नमै खर्चिएका थिए । ओली नेतृत्वको समुह प्रतिगमनकारी भएकोले देशको हित, विकास र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउन नेताहरुले अपिल गरेका छन् ।
गोकुलेश्वरको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव लड्ने कुनै नैतिक अधिकार नभएको टिप्पणी गर्नुभयो । ओली कम्पनीका सबैलाई विश्राम लिन आग्रह गर्दै उहाँले आगामी चुनावपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गर्नुभयो ।
ओलीले गत साता मात्रै दार्चुला पुगेर नेता बडूलाई हार निश्चित भएकोले चुनाव नलडे पनि हुने टिप्पणी गर्नुभएको थियो । सत्तामा भएको बेला समेत जिल्लाको लागि केही नगर्ने, जिल्ला नफर्किने बडूले काठमाडौंमा आराम गर्न जानु ठिक हुने ओलीको भनाई थियो । कालापानीको क समेत उच्चारण नगर्ने बडूलाई जनताले परास्त गर्ने ओलीको टिप्पणीको जवाफमा बडूले चुच्चे नक्साको विषय ओलीले हल्का बनाएको आरोप लगाउनुभयो । चुच्चे नक्सासहितको किताब छापिसकेपछि ओलीले नै रोकेको बडूको भनाई छ । संविधानको रक्षा, अग्रगमन र दार्चुलाको विकासका लागि गठबन्धनलाई जिताउन सत्ता गठबन्धनका उम्मेदवारहरुले अनुरोध गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
तस्बिरमा हेर्नुहोस दार्चुलाको गोकुलेश्वरमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको चुनावीसभा ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।







प्रतिक्रिया