दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ ओखलमा गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी एमालेतर्फका दुई र गठबन्धनतर्फका दुई गरी चार जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइते हुनेमा एमाले पक्षका मार्मा गाउँपालिकाका २८ वर्षीय बिरेन्द्र बिष्ट र शैल्यशिखर नगरपालिका ९ नायलका २५ वर्षीय सुरेश बादी रहेका छन् । गठबन्धनको तर्फबाट अपिहिमाल गाउँपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय जहेन्द्र धामी र सोहि ठाउँका २४ वर्षीय जगत धामी रहेको प्रहरीले जनाएको छ । नेकपा एमालेको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशी सवार गाडी गठबन्धनका कार्यकर्ताले रोकेपछि विवाद सुरु भएको थियो । ओखल क्षेत्रमा एमाले उम्मेदवारलाई कार्यक्रम गर्नमा समेत गठबन्धनका कार्यकर्ताले अवरोध गरेको प्रहरीले बताइएको छ ।
गठबन्धनका कार्यकर्ताले गुण्डागिर्दी शैलीमा झडप गर्न खोजेको आरोप लागेको छ । पराजित मानसिकता बोकेका गठबन्धनका कार्यकर्ताले भौतिक हमला गरेको एमाले पक्षको गुनासो छ । गठबन्धनका पक्षले भने एमालेले गठबन्धनका कार्यकर्ताहरूलाई आक्रमण गरेपछि प्रतिकार गर्न खोज्दा झडप भएको बताएको छ । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मार्माले जनाएको छ । मार्मा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको र एमाले उम्मेदवार जोशी प्रहरीको सुरक्षामा मार्माको लटिनाथ प्रहरी कार्यालयमा आइपुगेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया