दार्चुला । दार्चुलाको अतिक्रमित भूमि कालापानी नजिक व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलंगामै हुने भएको छ । गत वैशाख ३० गते नेपाली सेनाको हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री ढुवानी गरेर स्थानीय तह निर्वाचन छाङरु र तिङ्करमै गरिएको थियो । अहिले व्यासमा चिसो बढेका कारण अधिकासं मतदाता खलंगा झरिसकेकोले छाङरु र तिङ्कर दुबै गाउँको निर्वाचन जिल्ला सदरमुकाम खलंगामै गर्ने गरी तयारी गरिएको हो । नेपाली भूमिबाट छाङरु र तिङ्कर जान बाटो नभएका कारण स्थानीय तह निर्वाचनका लागि हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको थियो ।

अहिले सबै मतदाता जिल्ला सदरमुकाम खलंगा बसाईसर्ने वडा कार्यालयको सिफारिस, मतदाताको अनुरोध र सर्वदलिय सहमतिका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलंगामै निर्वाचन गर्न लागिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । सर्बदलिय सहमति र वडाको सिफारिसका आधारमा दुबै गाउँको मतदान केन्द्र खलंगामै कायम गरिएको उहाँले बताउनुभयो । छाङरुको मतदान केन्द्रमा ३८३ र तिङ्करको केन्द्रमा २३४ जना मतदाता रहेका छन् । अहिले व्यासमा चिसो बढेका कारण मतदाता खलंगा झरिसकेका छन् । व्याँसबासीले गर्मीयाममा गाउँ जाने र हिउदमा बेँसी बसाईसर्नुलाई स्थानीय भाषमा कुञ्चा सर्नु भनिन्छ । तिङ्कर जोड्ने गरी निर्माणाधिन महाकाली करिडोर अन्तरगत दार्चुला तिङ्कर सडकको काम नसकिँदा मतदानकालागि जनशक्ति र सामग्री पठाउन पनि समस्या रहेको छ । भारतको बाटो हुँदै एक साता लगाएर खलंगा आइपुगेका व्याँसी सौँका समुदायलाई खलंगामै मतदानको व्यवस्थापन गरिएपनि अतिक्रमित नेपाली भूमि गुन्जी, कुटी र नाभीमा भने निर्वाचन हुने अवस्था छैन् ।

दार्चुलाका १४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्रहरुमा पुगेका छन् । सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधवार नै निर्वाचन सामग्री बुझेर हिँडेका हुन् । जिल्लाको अति विकट अपिहिमाल, व्यास र लेकम गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरु बुधवार नै खलंगाबाट हिंडेका थिए । यातायातको पहुँच भएका र नजिकका केन्द्रहरुमा खटिएका कर्मचारी र सुरक्षाकर्मी समेत आज सम्बन्धित मतदान केन्द्रमा गइसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो ।

मङ्सिर १ गते साँझसम्म मतदान केन्द्रमा पुग्नुपर्ने भएकाले निर्वाचन सामग्री बुझेर सबै कर्मचारी र सुरक्षाकर्मी गइसकेको उहाँले बताउनुभयो । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन् । मङ्सिर १ गते साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुुगेर मदिरा निषेधित क्षेत्रको सूचना टाँस लगायतका निर्वाचनसँग सम्बन्धित कामहरु गर्नुपर्ने बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नौँ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेका छन् । स्थानीय तह निर्वाचनको बेला दार्चुलाका ११० मतदानस्थल र १३९ मतदान केन्द्रमा निर्वाचन गरिएकोमा अहिले दुई मतदानस्थल र ४ केन्द्र थप गरिएको छ ।

जिल्ला कारागार दार्चुला र घरेलु कार्यालयमा अस्थाई मतदान केन्द्र राखिएको छ । कुनैपनि निर्वाचन केन्द्र अपाङ्गतामैत्री नबनाइएको गुनासो आएको छ । दार्चुलामा स्थानीय तह निर्वाचनमा ७२.०४ प्रतिषत मतदान भएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?