दार्चुला । दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री दिलेन्द्र प्रसाद बडू र पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले एउटै मतदान स्थलमा मतदान गर्नेछन् । प्रतिनिधिसभामा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेश नेता बडू र एमाले नेता ठगुन्ना दुबैले जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–५ अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय परिसरको मतदान स्थलमा मतदान गर्ने छन् । मन्त्री बडूको घर महाकाली नगरपालिका वडा नम्बर ५ को नमस्कार हो, भने ठगुन्नाको घर सोहि वडाको किम्तडी हो ।
प्रदेशसभा क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार कांग्रेश नेता बिक्रम सिंह धामीले मार्मा गाउँपालिकाको लटिनाथ माबि रस्कोट मतदान केन्द्रमा मतदान गर्नेछन् । धामीले मतदाता नामावली क्षेत्र नम्बर २ मा भएका कारण आफुलाई मत दिन पाउनुहुनेछैन् । प्रदेशसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका हरदेव जोशीले महाकाली नगरपालिका–१ को छापरी आबि मतदान केन्द्रमा मतदान गर्नेछन् । प्रदेशसभा क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार मानबहादुर धामीले नौगाड गाउँपालिका–२ सुण्डमुण्डमा रहेको केदारेश्वरी माविको मतदान केन्द्रमा मतदान गर्नेछन् । नेकपा एमालेका रामदत्त जोशीले शैल्यशिखर नगरपालिका–८ को गलैनाथ मावि झरकडा केन्द्रमा मतदान गर्नेछन् । दार्चुलामा प्रतक्षतर्फ प्रदेशसभामा ९ र प्रतिनिधिसभामा ९ गरी १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचनका लागि दार्चुलाका सबै मतदानस्थल तथा केन्द्रहरुमा बुथ निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवक मिलेर मतदान केन्द्रमा बुथ निर्माण गरिएको उहाँले बताउनुभयो । मतदान गर्न जाने र फर्कने बाटो अलग–अलग हुने गरेर बुथ निर्माणको काम गरिएको छ ।
नौँ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेका छन् । व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलंगामै हुने भएको छ । जिल्लाभरी १४३ मतदान केन्द्रमा निर्वाचन गर्नका लागि मतदान अधिकृत १४३, सहायक मतदान अधिकृत १४३, सहायक कर्मचारी ६९९, कार्यालय सहयोगी १४३ गरी जम्मा एक हजार १२८ कर्मचारी र स्वयमसेबक ५२७ गरी कुल एक हजार ६५५ जना खटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मतदानका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ । जिल्लाभरी ५२८ नेपाल प्रहरी, ८२७ म्यादी प्रहरीसहित दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
मतदान सम्पन्न भएपश्चात आइतबार बेलुकी नै मतपेटिका सदरमुकाम खलंगा ढुवानी गर्ने तयारी छ । गाडी पुग्ने ठाउँमा मतपेटिका ढुवानीको लागि बसको व्यवस्था गरिएको र यातायातको पहुँच नभएको ठाउँबाट सडकमार्गसम्म मानिसले बोकेर मतपेटिका संकलन गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउनुभयो । मतपेटिका संकलन भइसकेपछि मतगणना कार्य जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा हुने बताइएको छ ।
दार्चुलामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको तर्फबाट गणेशसिंह ठगुन्ना, सत्तारूढ गठबन्धनको तर्फबाट दिलेन्द्रप्रसाद बडू, राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देववहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारा दत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ ।
प्रदेशसभा क्षेत्र १ मा नेकपा एमालेको तर्फबाट हरदेब जोशी, गठबन्धनको तर्फबाट बिक्रमसिंह धामी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपाबाट चक्रबहादुर बम र संघीय लोकतान्त्रिक मञ्चबाट नन्दी कामीको उम्मेदवारी छ । प्रदेशसभा क्षेत्र २ मा एमालेबाट रामदत्त जोशी, गठबन्धनबाट मानबहादुर धामी, राप्रपाबाट अमरसिंह धामी र संघीय लोकतान्त्रिक मञ्चबाट गगन ठगुन्नाको उम्मेदवारी छ ।
विहान ७ बजे देखी बेलुकी ५ बजे सम्म मतदानको समय निर्धारण गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया