दार्चुलामा मतदान सम्पन्न, ६५ प्रतिषत मत खस्यो, मतपेटिका ढुवानी सुरु, भोलिदेखि गणना

दार्चुला । दार्चुलामा मतदान सम्पन्न भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि दार्चुलामा ६५ प्रतिषत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शैल्यशिखरको आगर मतदान केन्द्रमा दिउँसो विवाद भएर एक घण्टा मतदान कार्य रोकिएपनि छलफलपछि मतदान सुचारु भएको थियो । स्थिति नियन्त्रणमा लिन उक्त केन्द्रमा तीन राउण्ड हवाइ फायर समेत गरिएको प्रहरीले जनाएको छ । छिटफुट घटनाबाहेक जिल्लाभरी शान्तिपुर्वक मतदान सम्पन्न भएको बताइएको छ । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते ७० प्रतिषत मतदान भएपनि अहिले ५ प्रतिषत कम अर्थात ६५ प्रतिषत मतदान भएको हो ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । नौँ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेका छन् । व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलंगामै भएको छ । जिल्लाभरी एक हजार ६५५ जना कर्मचारी र दुई हजार बढी सुरक्षाकर्मी मतदानमा खटिएका थिए ।

मतदान सम्पन्न भएपश्चात आइतबार आज बेलुकी नै मतपेटिका सदरमुकाम खलंगा ढुवानी थालिएको छ । गाडी पुग्ने ठाउँमा मतपेटिका ढुवानीको लागि बसको व्यवस्था गरिएको र यातायातको पहुँच नभएको ठाउँबाट सडकमार्गसम्म मानिसले बोकेर वा बैकल्पीक व्यवस्थापन गरेर मतपेटिका संकलन कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउनुभयो । मतपेटिका संकलन भइसकेपछि सोमबार देखि मतगणना कार्य जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा हुने बताइएको छ ।

दार्चुलामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको तर्फबाट गणेशसिंह ठगुन्ना, सत्तारूढ गठबन्धनको तर्फबाट दिलेन्द्रप्रसाद बडू, राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देववहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारा दत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभा क्षेत्र १ मा नेकपा एमालेको तर्फबाट हरदेब जोशी, गठबन्धनको तर्फबाट बिक्रमसिंह धामी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपाबाट चक्रबहादुर बम र संघीय लोकतान्त्रिक मञ्चबाट नन्दी कामीको उम्मेदवारी छ । प्रदेशसभा क्षेत्र २ मा एमालेबाट रामदत्त जोशी, गठबन्धनबाट मानबहादुर धामी, राप्रपाबाट अमरसिंह धामी र संघीय लोकतान्त्रिक मञ्चबाट गगन ठगुन्नाको उम्मेदवारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?