लक्ष्मी भाट, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–४ मा मृत भेटिएका ३५ वर्षीय नरसिंह विष्ट (नरेन्द्र) को हत्या भएको एक हप्ता बढी भएपनि प्रहरीले हत्यारा सार्वजनिक गर्न सकेको छैन् । आफन्तले हत्यारालाई कार्वाहीको माग गर्दै पाँच दिनसम्म मृतकको शव बुझ्न मानेका थिएनन् । प्रहरीले तीन दिन पहिले जिल्ला अस्पताल दार्चुलामा शवको पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाएको छ । घटनामा प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पुगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । ‘अहिलेसम्म थुप्रै व्यक्तिलाई सोधपुछ गरेका छौं,’ उहाँले भन्नुभयो, ‘केही व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेका छौं, आज वा भोली निष्कर्षमा पुग्छौं।’ प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि हत्यारा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।
बिष्टका आफन्तले हत्या भएको आशंका गर्दै संलग्न पत्ता नलाग्दासम्म शव नउठाउने बताउँदै आएका थिए । प्रहरीले दोषीलाई कार्वाही गर्ने आश्वस्त पारेपछि आफन्त शव बुझ्न तयार भएको र पोष्टमार्टमपछि अन्तेष्टि गरिएको बताइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि घटनाको अनुसन्धान गरिरहेको छ। मंसिर ४ गते विष्टको शव घर नजिकैको खोलामा भेटिएको थियो। दार्चुला सदरमुकाम खलंगामा होटल व्यवसाय गर्दै आएका बिष्ट मतदानको लागि गाउँ जानुभएको थियो । बिष्ट मंसिर ३ गते राति बेपत्ता भएकाे परिवारजनले बताएका छन् । सत्ता गठबन्धनका कार्यकर्ताले विष्टको हत्या गरेको आफन्तको दाबी छ। विष्ट निर्वाचनका दिन भोट हाल्न नआएपछि स्थानीयले खोजी गर्दा मृत फेला पर्नुभएको थियो ।
घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कार्वाही गर्न आफन्तजनका साथै व्याँस गाउँपालिका, नेपाली कांग्रेस, नेकपा एमाले लगायत राजनीतिक दल र स्थानीयले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया