दार्चुला । दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा तनाव सिर्जना भएको छ । आइतबार (आज) दिउँसो जिल्लास्थित नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो। भारतले दार्चुलाको पारीपट्टी महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेको छ । सोही तटबन्ध निर्माणको नेपाली नागरिकहरुले विरोध गरेपछि विवाद भएको बताइएको छ ।
आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहारसमेत गरेको स्थानीयहरुले बताएका छन् । भारततर्फबाट ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएको बताइएको छ। यद्धपी दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने पारीबाट नभइ वारीबाट ढुगां प्रहार भएको र डोजर चालक सामान्य घाइते भएको बताउनुभयो । नेपाली नागरिकहरुले दिउँसो तटबन्धको विरोधमा नेपाल–भारत जोड्ने पुलमा आवतजावत बन्द गरेका थिए । आज करीब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि सुरक्षा अधिकारीसहित सुरक्षाकर्मीहरु खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धारचुलाका एसडीएमबिच कुराकानी भएपछि केही समय बन्द भएको पुल खोलिएको छ । विगतमा भएका सहमति कार्यान्वयन गर्ने र दुइपक्षीय सहमतिका आधारमा मात्रै निर्माण कार्य अगाडी बढाउने सहमति पछि पुल खोलिएको प्रजिअ उपाध्यायले बताउनुभयो ।
भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गर्दै आएका छन् । सीमामा भारतीय पक्षले गैरकानुनी ढंगले विभिन्न गतिविधि गर्दा समेत नेपाल सरकार र सरकार मातहतका सरोकारवाला निकायहरुले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्लो समय धमाधम तटबन्ध निर्माण गरिरहेको छ। नदीको सतह नै परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका छन्। भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउदै उनीहरुले आन्दोलन थालेका छन्।
भारतीय पक्षले सधै सीमामा दादागिरी गर्दा समेत सरकार मुखदर्शक बन्ने गरेको स्थानीयको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया